काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले १ खर्ब ७७ अर्ब ४१ करोड बराबरको रकम देशभित्र पठाएका छन् ।
आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९ दशमलव ९ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव ७ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५ दशमलव ८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब ४८ अर्ब ८ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४४ हजार ४६६ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या २३ हजार ६४४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ थियो ।









