काठमाडौं– गत अगस्टमा अमेरिकातर्फ जापानको निर्यात करिब १४ प्रतिशतले घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ कर नीतिले ठूलो असर पारेको तथ्यांक बुधबार सार्वजनिक भएको छ । तथ्यांकअनुसार अटो निर्यात एक चौथाइभन्दा धेरैले घटेको छ ।

अमेरिकी राष्ट्रपतिले बजार र विश्वव्यापी व्यापारमा हलचल ल्याउने गरी विभिन्न देशहरूमा कर लगाउने घोषणा गरेपछि यो पछिल्लो ठूलो गिरावट देखिएको हो । ब्लुमबर्गका अनुसार अमेरिकातर्फको जापानी सामानको मूल्य १३ दशमलव ८ प्रतिशतले घटेको यो चार वर्षकै सबैभन्दा ठूलो कमी हो ।

जापानको वित्त मन्त्रालयअनुसार अटो निर्यात २८ दशमलव ४ प्रतिशत र अटो पाट्र्स ७ दशमलव १ प्रतिशतले घटेका छन् । वर्षको सुरुदेखि नै ट्रम्पको व्यापार युद्धका कारण कार तथा सवारी साधनहरूको निर्यातमा निरन्तर गिरावट आएको छ ।

अमेरिकातर्फ हुने जापानी निर्यातको झन्डै एक तिहाइ हिस्सा ओगट्ने अटो उद्योग २७ दशमलव ५ प्रतिशत लेवीको मारमा परेको छ । यद्यपि मंगलबार लागू भएको नयाँ व्यापार सम्झौतापछि जापानी अटोहरूमा केही कम अमेरिकी शुल्क लागू भएको छ । अब कारलगायत सवारी साधनहरूले अन्य धेरै वस्तु सरह १५ प्रतिशत टोल भुक्तान गर्नुपर्नेछ ।

सम्झौता कार्यान्वयनलाई जापानका उद्योगका निम्ति अस्थायी जित मानिएको छ । तर लेवीहरूको दबाबका कारण जापानी व्यापारिक लबीहरूले टोकियोले थप वार्ता अघि बढाउने अपेक्षा राखेका छन् ।

अमेरिकी उत्पादन बढाउन र विशाल व्यापार घाटा कम गर्न ट्रम्पले विश्वभरका देशहरूमा उच्च आयात भन्सार शुल्क लगाएका छन् । जापानको अटोमोबाइल उद्योगले— टोयोटा र होन्डा जस्ता ठूला कम्पनीहरूसहित— देशको कुल रोजगारीको करीब आठ प्रतिशत हिस्सा ओगट्छ ।

ट्रम्पले लामो समयदेखि आलोचना गर्दै आएको अमेरिकासँगको जापानी व्यापार नाफा अगस्टमा ५० प्रतिशतले घटेर ३ खर्ब २४ अर्ब येन (दुई अर्ब २१ करोड डलर) मा सीमित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय