काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वान्जाओमा सिधा उडान सुरु गरेको छ । निगमले शनिबारदेखि काठमाडौं–ग्वान्जाओ–काठमाडौं नियमित उडान सञ्चालन गरेको हो ।

निगमले चीनको ग्वान्जाओमा असोज ९ गतेदेखि उडान सञ्चालन गर्ने योजना बनाएको भए पनि केही प्राविधिक कमजोरीका कारण निगमको उद्घाटन उडान शनिबार दिउँसो मात्र भयो । ग्वान्जाओको उद्घाटन उडानमा सहभागी विभिन्न क्षेत्रका व्यक्ति तथा केही सङ्ख्याका यात्रु त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुगिसकेको अवस्थामा उडान रद्द भएको थियो । विमानस्थल पुगेका यात्रुलाई निगमले व्यवस्थापन गरेको थियो ।

निगमका प्रवक्ता मनोजकुमार साहका अनुसार काठमाडौंबाट शनिबार दिउँसो ग्वान्जाओ उडेको विमान ग्वान्जाओबाट १०७ यात्रु लिएर आइतबार काठमाडौं फर्किएको छ । पूर्वनिर्धारित तालिकाबमोजिम नै ग्वान्जाओमा नियमित उडान हुनेछ ।

निगमले हरेक हप्ता तीनवटा नियमित उडान गर्ने तालिका तय गरेको छ । पहिलो उडान असोज १२ गते हुने र त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते हुने उडान पनि तय भएको छ । त्यसपश्चात् प्रत्येक आइतबार, मंगलबार र शनिबार ग्वान्जाओतर्फ सिधा उडान हुनेछ । काठमाडौंबाट ग्वान्जाओसम्मको एकतर्फी भाडादर ३० हजार र दोहोरो टिकट ५० हजार तोकिएको निगमले जनाएको छ ।

काठमाडौं–ग्वान्जाओ गन्तव्यमा अहिले चीनको वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान गरिरहेको छ । नेपालबाट भने हिमालय एयरलाइन्सले यो रूटमा नियमित उडान भर्दै आएको छ । नेपालीहरूको बाहुल्यता रहेको ग्वान्जाओ उडानले निगमलाई आर्थिक रूपमा लाभ हुनसक्ने अनुमान गरिएको छ ।

निगमको ग्वान्जाओ उडानसँगै अब ९ देशका ११ गन्तव्यमा नियमित उडान हुने भएको छ । हाल नेपाल वायुसेवा निगमसँग रहेका दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुवई, हङकङ, भारतका दिल्ली, मुम्बई र बैंगलोर, थाइल्यान्डको बैंकक, साउदी अरबको दमाम र जापानको नारितामा अन्तरराष्ट्रिय उडान भइरहेको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय