काठमाडौं– जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा गठित मन्त्रिमण्डलमा दुई सदस्य थपिएका छन् । नवनियुक्त दुई मन्त्रीले आइतवार पद तथा गोपनीयताको सपथ खाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई सपथ ग्रहण गराएका हुन् । आज बिहान चार मन्त्रीले शपथ लिने चर्चा चले पनि दुई जनाको मात्रै शपथ भएको हो ।
डा गौतम स्वास्थ्य मन्त्रालयका पूर्वसचिव हुन् भने गुप्ता जेनजी आन्दोलनका अगुवा हुन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरुलाई राष्ट्रपति पौडेलले आज नियुक्त गरेका थिए ।
गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्को संख्या आजको विस्तारसँगै १० पुगेको छ । यसअघि गत भदौ ३० र असोज ६ गते मन्त्रिपरिषद् विस्तार भएको थियो ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, मन्त्रीगण, प्रनिधिसभाका उपसभामुख इन्दिरा राना, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए ।









