गुल्मी- रेसुंगा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ । नेपाल वायुसेवा निगम रेसुंगा स्टेसनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रुपमा साताको चार पटक हवाई उडान सुरु भएको जानकारी दिए ।

नेपाल वायुसेवा निगमको ट्विनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो । अहिले बिग्रिएको ट्वीनअटर जहाजको मर्मतसम्भार पश्चात पुनः सातामा चार पटक उडान तालिका सुरु गरिएको प्रमुख थापाले बताए ।

नेपाल वायुसेवा निगमले रेसुंगा विमानस्थलमा अबदेखि आइतबार, मंगलबार, बिहीबार र शनिबार गरेर सातामा चार पटक उडान गर्ने भएको हो । सो विमानस्थलमा नेपाल वायुसेवा निगमको १९ सिट क्षमताको ट्विनअटर जहाजले काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुंगाबाट बिहान ७ः३० बजे हवाई उडान गर्दै आएको छ । निगमले काठमाडौंबाट गुल्मीका लागि ७ हजार ५०० र गुल्मीबाट काठमाडौंका लागि ७ हजार ३०० भाडादर निर्धारण गरेको छ ।

रेसुंगा विमानस्थलमा दिउँसोको समयमा अत्याधिक मात्रामा हावाको चाप हुने भएका कारण प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान गर्नुपरेको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय