काठमाडौं– आजैमात्र अवकास लिएका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक लगाइएको छ ।
२३ र २४ भदौको घटनाबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले आज एक विज्ञप्ति निकाल्दै उनलाई आजैदेखि विदेश भ्रमण र उपत्यका छाड्न रोक लगाएको जानकारी गराएको हो ।
आयोगको सूचनामा उल्लेख भनिएको छ, ‘आजबाट सेवा निवृत्त हुनुभएकाले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागू हुने गरी निजको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।’
आयोगको सूचनामा यो विषय खापुङलाई जानकारी गराउन पनि भनिएको छ ।









