काठमाडौं– चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो तीन महिनामा साढे ५ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ को असोज महिनासम्मको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह ३५ दशमलव चार प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो ।
गत असोजमा मात्र २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ खर्ब ४३ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।
पछिल्लो तीन महिनामा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगततर्फ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख २३ हजार ४५९ र पुनःश्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको छ ।









