काठमाडौं– देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व संकलनमा समेत ह्रास आएको छ ।
कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व संकलनको मात्रा क्रमशः ओरालो लागेको छ ।
सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व संकलन अपेक्षित रूपमा बढ्न सकेको छैन । केही दिन पहिलेमात्र सरकारले भूउपयोग नियमावली तेस्रो पटक संशोधन गरेको छ । गत कात्तिक महिनामा देशभरका मालपोत कार्यालयले २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार एक सय ९९ बराबरको राजस्व संकलन गरेको थियो ।
गत असोजमा २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ बराबरको राजस्व संकलन भएको थियो । यस्तै, भदौमा ३ अर्ब १४ करोड ७ लाख १६ हजार ३३५ रुपैयाँ राजस्व संकलन भएको थियो । गत साउनमा ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ बराबरको राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
विभागका अनुसार गत कात्तिकमा सेवा करमार्फत २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिस्ट्रेसन दस्तुर १ अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ र पुँजीगत लाभकरमार्फत ९९ करोड ७८ लाख ४४ हजार ३९२ संकलन गरेको थियो ।









