काठमाडौं– बैतडीको शिवनाथ गाउँपालिका–२, मडैगाउँका १८ वर्षीय दीपकबहादुर साउदको कोरिया गएर परिवारको आर्थिकस्तर उकास्ने सपना बोकेर काठमाडौंमा कोरियाली भाषा अध्यया गर्दै थिए ।

गत भदौ २४ गते काठमाडौंको कालीमाटी क्षेत्रमा प्रहरीले चलाएको गोलीले उनको निधन भयो ।

आन्दोलनको पहिलो दिन भदौ २३ गते साँझ आफ्नै छोरासँग अन्तिम पटक कुराकानी गरेकी आमा लक्ष्मी साउदका आँखा अझै ओभाएका छैनन्।

छिमेकी र आफन्तले सान्त्वना दिन आउँदा पनि उनी सम्हालिन सक्दिनन् । भदौ २३ गते काठमाडौंमा १७ जना र सुनसरीमा २ युवाको मृत्युको खबर सुनेपछि आमा लक्ष्मीले छोरालाई आन्दोलनमा नजान, कोठामै बस्न वा घर फर्किन भनेकी थिइन् । ‘मैले भनेको मानेको भए सायद मेरो छोरो हामीसँगै हुन्थ्यो होला,’ उनले भनिन् । तर दीपकले आफ्नो उमेर समूहका साथीहरूले दिएको बलिदान र देशमा व्याप्त भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी हुने इच्छा व्यक्त गर्दै आमासँग भने, ‘यदि मेरा साथीहरू जान्छन् भने म पनि जान्छु । यसमा मलाई नरोक्नु आमा । आन्दोलनमा जाँदैमा मरिन्छ भन्ने पनि होइन ।’

आन्दोलनमा सहभागी भएसँगै भदौ २४ गते बेलुकीदेखि उनसँग मोबाइलमा सम्पर्क टुटेको भाउजू सरस्वती साउद बताउँछिन्। दीपक दुई जना अन्य साथीसँग काठमाडौंको कीर्तिपुरमा कोठा लिएर बसेका थिए। बेलुकी साथीहरूले दीपक घाइते भएर अस्पताल लगिएको र उपचार भइरहेको जानकारी दिए तर भदौ २५ गते बिहान अप्रत्याशित रूपमा उनको निधनको खबर परिवारले पायो । ‘त्यो खबरले घरको आशा र भरोसा दुवै तोडिदियो,’ सरस्वतीले भनिन् ।

दीपक पढाइमा पनि अत्यन्त मेहनती थिए । घर नजिकैको विद्यालयमा ११ कक्षा अध्ययन गर्दै गर्दा कोरियन भाषा परीक्षाको तयारीका कारण विद्यालय नजाँदै एकैपटक १२ कक्षा उत्तीर्ण गरेका थिए । पाँच भाइमध्ये तेस्रो दीपकका दुई भाइ गाउँकै विद्यालयमा पढ्दैछन् भने दुवै दाजु रोजगारीका लागि भारतको मुम्बईमा छन् । भाइको मृत्युको खबर पाएपछि मुम्बईबाट गत भदौ २७ गते मात्रै जेठा दाजु वीरेन्द्र काठमाडौं पुगे । चिकित्सकले वीरेन्द्रसँग भाइको आँखामा गोली लागेर ‘ब्रेन डेड’ भएर मृत्यु भएको बताएका थिए । वीरेन्द्र भन्छन्, ‘हामी आउँदासम्म भाइको शव ट्रमा सेन्टरमा राखिएको थियो । भिडियो एक्सरे हेर्दा एक आँखामा गोली लागेको देखियो ।’

यसरी आन्दोलनमा गएर ज्यान गुमाएका युवाहरूको उद्देश्य सरकारले पूरा गर्नुपर्ने उनी बताउँछन् । गाउँलेहरू पनि दीपक जस्ता युवाको बलिदानको कदर हुनुपर्ने बताउँछन् ।

सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जना युवालाई सहिद घोषणा गरिसकेको छ, जसमा दीपक पनि छन् ।

उनको परिवारको एउटै भनाइ छ, सहिद घोषणा मात्र पर्याप्त छैन उनीहरूले उठाएका माग पूरा गर्न सरकारको इच्छाशक्ति, राजनीतिक दल र नागरिक समाजलगायत सवै पक्षको सहयोग अपरिहार्य छ । दीपकको कथा केबल व्यक्तिगत पीडा मात्र होइन, यो त्यस पुस्ताको आवाज हो, जसले भ्रष्टाचार र असमानताविरुद्ध देशमा उज्यालोको आशा बोकेको छ । दिपक चन्द (रासस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय