काठमाडौं– नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टतिेलमा प्रतिलिटर १ रुपैयाँका दरले मूल्य घटाएको हो ।
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौं, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ ।
निगमले हवाई इन्धन (आन्तरिक र अन्तरराष्ट्रियतर्फ)को मूल्य भने बढाएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ र अन्तरराष्ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर अमेरिकी डलर ४२ बढाइएको छ । मूल्य बढेसँगै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १३४ रुपैयाँ र अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार १५ पुगेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ ४४ पैसा घटेर तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ ६२ पैसा बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।









