काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई बुधबार पक्राउ गरेको छ। ब्युरोले प्रभु बैंकको ऋण दुरुपयोग कसुरमा उनलाई पक्राउ गरेको जनाएको छ ।

सीआईबीले उच्च अदालत पाटनको अनुमति लिएर ललितपुरको जावलाखेलबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

सीआईबीले शाक्य ‘ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरको अनुसन्धानको सिलसिलामा संकलन भएका विवरण तथा तथ्यहरुको विज्ञ टोली समेतले अध्ययन, विश्लेषण गर्ने क्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन समेतले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानुन विपरीत कार्य गरी प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराध लुकाउन विभिन्न कम्पनीको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने, गराउने कसुरमा संलग्न रहेको’ दाबी गरेको छ । उनलाई उच्च अदालत पाटनबाट अनुमति लिई पक्राउ गरेको पनि सीआईबीले स्पष्ट पारेको छ ।

सीआईबीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलगायत उच्च तहका तीन अधिकारीलाई समेत पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

गुण समूह रियल स्टेट, हवाई सेवा, हाउजिङ, सिनेमाघर, मोटर पार्टस, व्यवसायिक भवनलगायतका क्षेत्रमा लगानी गरेको व्यावसायिक घराना हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय