काठमाडौं– भन्सार ऐन, २०८२ का केही प्रावधानमा असहमति जनाउँदै देशभर पेन डाउन गरेका भन्सार एजेन्टहरू र भन्सार विभागबीच सहमति भएपछि उनीहरुको आन्दोलन स्थगित भएको छ ।
भन्सार विभागमा दुई पक्षबीच वार्ता भएको थियो । उक्त वार्तामा भन्सार एजेन्टहरूले रोकेको काम सुरू गर्ने सहमति भएको हो।
भन्सार एजेन्ट महासंघले आफ्ना माग सम्बोधनलाई सरकारले सकारात्मक रूपमा लिएपछि सहमति गरिएको र रोकिएको काम सुरू गरिएको जानकारी दिएको छ।
भन्सार विभागले एजेन्टका मागमा विभागको तर्फबाट गर्न सकिने सहजीकरण गर्ने महानिर्देशक श्यामप्रसाद भण्डारीले बताएका छन् ।
शनिबारदेखि कार्यान्वयनमा आएको नयाँ भन्सार ऐनमा दण्ड–जरिवाना कडा भएको र कागजात तथा प्रक्रियासम्बन्धी व्यवस्थाहरू अव्यावहारिक भएको भन्दै भन्सार एजेन्टहरुले बिहानदेखि सबै कार्यालयमा काम रोकेका थिए ।
एजेन्टहरुले जाँचपास नगराएपछि आयात–निर्यात व्यापार प्रभावित भएको थियो ।









