काठमाडौं– अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले एआई विधाको प्रयोग गरी खानी तथा उद्योग क्षेत्रको काममा सहयोग पुर्याउने सञ्चार उपकरण सेट तयार गरेबापत नेपाली विद्यार्थीलाई ‘ब्राइट स्पार्क अवार्ड’बाट पुरस्कृत गरेको छ ।

सो विश्वविद्यालयले आफ्नो रजत जयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गरी स्नातक तहमा अध्ययनरत काठमाडौंका २२ वर्षीय श्यामसुन्दर श्रेष्ठलाई प्रतिष्ठित रूपमा लिइने सो पुरस्कारबाट सम्मान गरेको हो ।

नेपाली विद्यार्थी श्रेष्ठसहित उनको टोलीले खानी तथा भारी उद्योगका लागि ‘एआई मोड्युल’ विकास गरेकामा उच्च मूल्यांकनसहित पुरस्कृत गरेको विश्वविद्यालयले स्पष्ट गरेको छ । उनीहरूले आविष्कार गरेको उपकरणले एनालग रेडियो नेटवर्कमा जोडिएर सुरुङ (खानी क्षेत्र)मा रहने कामदार र एआई एजेन्टबीच वाकी–टकीमार्फत कुराकानी गर्न सकिने बताइएको छ ।

सो विश्वविद्यालयका अनुसार यस प्रविधिले महँगो नयाँ पूर्वाधारको आवश्यकता बिना नै कामदारलाई प्राविधिक डेटा, सुरक्षा प्रोटोकल तथा अन्य महत्त्वपूर्ण जानकारी छिटो एवं सहजरूपमा उपलब्ध गराउन सक्ने भएको छ ।

करिब ३०० प्रतिष्ठित उद्योगी व्यावसायीसमेतको विशेष उपस्थितिमा आयोजित पुरस्कार छनोट प्रतियोगिता (फाइनल पिच)का अवसरमा नेपाली विद्यार्थी श्यामसुन्दर श्रेष्ठले पूर्ण खानी सुरक्षा पोशाक (माइनिङ सेफ्टी गियर) लगाएर प्रविधिको प्रत्यक्ष प्रदर्शन गरेको जानकारी दिए। उनले नवपवर्द्धनमा विशेष भूमिका निर्वाह गरेबापत पाइने सो पुरस्कारबाट सम्मानित भएपछि राससलाई संक्षिप्त प्रतिक्रिया दिँदै अस्ट्रेलियामा आएर मेहनतका साथ अध्ययन गरी नेपाल र नेपालीको इज्जत प्रतिष्ठा बढाउन सफल भएको बताए ।

विशेषगरी नवप्रवर्द्धन र उद्यमीशीलतासहित स्टार्टअफसम्बन्धी सिर्जननात्मक काममा सरल र सहज बनाउन सहयोग पुर्याउने सोचसहित आविष्कारमा संलग्न युवा विद्यार्थीलाई विश्वविद्यालयले पुरस्कृत गर्दै आएको जनाएको छ । सन् २००१ देखि सुरु भएको यस किसिमको कार्यक्रमबाट १ हजार १०० भन्दा बढी ‘स्टार्टअप’हरू सुरु गर्न सहयोग पुगेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय