काठमाडौं– बहुचर्चित भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसहित ७ जनाभिवरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उक्त प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रमेश लेखकमाथि भने छुट्टै अनुसन्धान हुने भएको छ ।
अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा तत्कालीन सहसचिव तिर्थराज भट्टराई, अधिकृत यज्ञराज अर्याल, ग्रिनलाइन होलिडेका अध्यक्ष बालकृष्ण खड्का, फेमिली होलिडेका सञ्चालक दिपक भण्डारी, ग्रिनलाइनका सञ्चालक राम खड्का, सहायक कविता पौडेल र जग्गा कारोबारी खेम सुवेदीलाई प्रतिवादी बनाइएको छ ।
विशेष अदालतमा दायर गरिएको अभियोगपत्रमा अख्तियारले तत्कालीन गृहमन्त्री रमेश लेखकको हकमा भने छुट्टै अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको छ ।
प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईको निवेदनसाथ प्राप्त भएको डायरी तथा नेपाल टेलिकमबाट प्राप्त सीडीआर विवरणबाट तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारी तथा स्वकीय सचिव जनक भट्टसँग अस्वाभाविक सम्पर्क भएको खुल्न आएको सन्दर्भमा भट्टराईको तत्कालीन गृहमन्त्री, गृहसचिव, अध्यागमन विभागका महानिर्देशक, तत्कालीन शान्ति सुरक्षा हेर्ने महाशाखाका प्रमुखसँग गैरकानुनी रकम लेनदेन भएको हुनसक्ने देखिएकोले वदनियतपूर्वक सेटिङ गरी भिजिट भिसामा विदेश पठाउन तत्कालीन गृहमन्त्री, गृहसचिव, अध्यागमन हेर्ने गृह मन्त्रालयका महाशाखा प्रमुख, गृह मन्त्रालयका प्रशासन हेर्ने महाशाखाका प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृह सचिवका सचिवालय र अन्य राष्ट्रसेवकहरू संलग्नताको सम्बन्धमा अनुसन्धान भइरहेको अभियोगपत्रमा उल्लेख छ ।









