काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पूर्वसुरक्षा प्रमुखदेखि साहित्यकारसम्मलाई समेटेर अन्तरिम मन्त्रिपरिषद् विस्तार गर्दैछिन् ।
प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीको नाम राष्ट्रपति कार्यालय पठाइसकेको शितल निवास स्रोतले जानकारी दिएको छ । शुक्रबार अपराह्न ३ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराउने कार्यक्रम छ।
कार्कीले पर्यटनविद् श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कानुनविद् कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, पूर्वसुरक्षा प्रमुख राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र जनस्वास्थ्यविद् माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिँदै छिन् ।
यो विस्तारसँगै मन्त्रिपरिषद्को आकार १४ सदस्यीय हुनेछ।
इङ्नाम काठमाडौं स्कुल अफ लका प्राध्यापक हुन्। उनी अन्तर्राष्ट्रिय व्यापार तथा मध्यस्थता र वित्तीय अपराधसम्बन्धी कानुनका विज्ञ हुन् । इङ्नामले थुप्रै किताब लेखेका छन्।
श्रम मन्त्रालको जिम्मेवारी सम्हाल्न लागेका राजेन्द्रसिंह भण्डारी नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक हुन्। जनस्वास्थ्यविद् माधव चौलागाईं साहित्यकार पनि हुन् ।
केही समयअघि निकै चर्चित बनेको ‘मान्ठा हुँ म मान्ठा’ गीतको रचनाकार पनि चौलागाईं नै हुन् । उनले सपादलक्ष कर्णाली नामको पुस्तक पनि लेखेका छन् ।
पर्यटनविद् श्रद्धा श्रेष्ठ नेपालय पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक हुन् ।









