काठमाडौं– चालु आर्थिक वर्ष २०८२–८३ को मंसिर मसान्तसम्म मुलुकले ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रुपैयाँको वैदेशिक व्यापार हुँदा ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ घाटा बेहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको ५ महिनाको वैदेशिक व्यापारको स्थिति प्रतिवेदनअनुसार यो अवधिमा ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख रुपैयाँको आयात र १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १५ दशमलव ८३ र निर्यात ५८ दशमलव १७ प्रतिशतले बढेको विभागले जनाएको छ ।

भारतसँग मात्र ५ महिनामा ३ खर्ब ३९ अर्ब २ करोड रुपैयाँभन्दा बढी व्यापार घाटा देखिएको छ । यो अवधिमा भारतबाट ४ खर्ब ३४ अर्ब ६ करोड ४२ लाखको वस्तु आयात हुँदा ९५ अर्ब ४ करोड २० लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । अर्को छिमेकी मुलुक चीनसँग १ खर्ब ६३ अर्ब ७३ करोड ४८ लाखको आयात र ४६ करोड ६८ लाख बराबरको निर्यात हुँदा नेपालले १ खर्ब ६३ अर्ब २६ करोड ८० लाखको घाटा बेहोरेको छ ।

नेपालको व्यापार बचतमा रहेका मुलुकहरुमा भने रोमानिया पहिलो स्थानमा देखिएको छ । पछिल्लो पाँच महिनामा रोमानियासँग नेपालको कुल वैदेशिक व्यापार बचत ६ करोड ३४ लाख ६९ हजार रुपैयाँ बराबर छ । त्यस्तै स्विडेन, इराकलगायतका मुलुकसँग नेपालको व्यापार बचतमा छ ।

यो अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । विभागका अनुसार पछिल्लो ५ महिनामा ४५ अर्ब ६० करोड ६२ लाख ११ हजार रुपैयाँ बराबरको डिजेल, २७ अर्ब ३३ करोड २ लाख १४ हजार रुपैयाँको पेट्रोल र २२ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ । १९ अर्ब १३ करोड ६९ लाखको स्मार्टफोन, ४६ अर्ब ९७ करोडको कच्चा सोयाबिन तेल र २१ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ बराबरको फलामजन्य वस्तु आयात भएको छ ।

नेपालले बढी निर्यात गरेका वस्तुमा सोयाबिन तेल पहिलो स्थानमा देखिएको छ । यो अवधिमा ४६ अर्ब ५५ करोड ८६ लाख ६६ हजार रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ । त्यस्तै ५ अर्ब ५३ करोड ३२ लाख रुपैयाँ बराबरको अलैंची, ४ अर्ब १३ करोड ३४ लाख बराबरको कार्पेट र ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको सूर्यमुखी तेल निर्यात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय