काठमाडौं– आम जनताले वैकल्पिक तथा नयाँ शक्तिहरु एकजुट भएर अघि जानुपर्ने चाहना व्यक्त गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र समकालीन राजनीतिकमा शीर्ष व्यक्तित्व काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच सात बुँदे सहमति भएको छ ।

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले गठबन्धनमा आफ्नो पार्टी जोडिने सम्भावनाको संकेत गरेका छन् ।

प्रमुख शाहले सामाजिक सञ्जालमार्फत सहमतिमा हस्ताक्षर गर्दै गरेको तस्बिर सार्वजनिक गर्दै शुभप्रभात लेखेका छन् । उनीहरूबीच आज बिहान सहमति भएको हो । सहमतिमा सभापति लामिछाने र प्रमुख शाहले हस्ताक्षर गरेका छन् ।

सार्वजनिक विवरणअनुसार नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागको यथोचित सम्बोधन गर्ने सहमतिमा उल्लेख छ ।

यस्तै पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ ।

त्यसैगरी, सहमतिपछि स्थापित हुने राजनीतिक दल, चुनाव चिह्न र पार्टी कार्यालय नाम राष्ट्रिय स्वतन्त्र पार्टीको नै हुनेछ । पार्टीको संगठनात्मक संरचनामा युवालाई सहभागी गराउनेलगायतका विषय समावेश गरिएका छन् ।

यसैबीच, ऊर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले पनि नेपाली जनताले वैकल्पिक शक्ति एक होस् भन्ने चाहेको बताउँदै सही नेतृत्व र वैकल्पिक शक्ति एक भएर जानुपर्ने बताएका छन् ।

आइतबार बिहान पोखरामा आयोजित कार्यक्रममा उनले भने, ‘‘सही नेतृत्वहरू र वैकल्पिक शक्ति एक भएर जानुपर्छ। नभए कार्यगत एकता गरेर जानुपर्छ। नयाँ र मेनस्ट्रिम फोर्स एक भएर जान आह्वान गर्छु । नेपाली जनताले वैकल्पिक शक्ति एक होस् र नयाँ नेतृत्व देओस् भन्ने चाहना छ। त्यो बुझेर अघि बढ्नुपर्नेछ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय