रसुवा– ६ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आज बिहान ७ः०० बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् ।
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल–चीनबीच ल्हेन्दे खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण भएको जानकारी दिँदै यही पुस १७ गतेदेखि रसुवागढी नाका खोल्ने सीमा क्षेत्रका चिनियाँ समकक्षीले जानकारी पठाएको बताए ।
गत असार २४ गते अगाडि सामान बोक्न केरूङ गएका मालबाहक कन्टेनर डिब्बा ल्याउने व्यवस्थापनका लागि नेपाली चालक र सामानको व्यस्थापनका लागि व्यवसायीका प्रतिनिधिसमेत केरूङतर्फ प्रस्थान गरिसकेको सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले बताए ।
ल्हेन्देखोलामाथिको मितेरीपुल बाढीले बगाउँदा असारदेखि नै आयातनिर्यात बन्द हुँदा गत वर्षको तुलना यस अवधिमा भन्सार शुल्कबापत उठ्ने राजस्व २० अर्ब रुपैयाँ घटेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले जानकारी दिए ।
ल्हेन्देखोला बाढीले टिमुरेस्थित भोटेकोशी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाहमा क्षति हुनुका साथै रसुवागढी स्याफ्रुबेसी १६ किलोमिटर सडक विभिन्न स्थानमा कटान गरेको थियो ।









