काठमाडौं– राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले भेनेजुएलाविरुद्ध ठूलो आकारको हमला गरेको र त्यहाँका नेता राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको बताएका छन्।
उनीहरूलाई पक्रेर देशबाहिर लगेको ट्रम्पले आफ्नो सोसल मिडिया पोस्टमा लेखेका छन्। मदुरोलाई कसरी पक्राउ गरियो वा कहाँ लगियो भन्ने बारेमा ट्रम्पले थप उल्लेख गरेका छैनन् ।
भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति मदुरो वा प्रथम महिला रहेको स्थानका बारेमा आफ्नो सरकारलाई कुनै जानकारी नभएको बताएको बीबीसीको रिपोर्टमा उल्लेख छ ।
राष्ट्रपति निकोलस मदुरो ट्रम्प प्रशासनको चर्को दबाबमा थिए। वासिंगटनले पछिल्ला साताहरुमा लागू पदार्थ बोकेको आरोपमा क्यारिबियनमा कैयौं डुङ्गाहरूमा आक्रमण गरेको छ।
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो अवैध रूपमा निर्वाचित भएको र उनी व्यक्तिगत रूपमा देशभर लागू औषध तस्करीमा संलग्न रहेको आरोप लगाएको छ। मदुरोले लागु औषधको गिरोह चलाएको वासिंगटनको आरोप छ ।
वासिङ्टनले मदुरोलाई पक्राउ गर्न सघाउने गरी जानकारी दिनेलाई ५ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा समेत रेको थियो। भेनेजुयलाका तेल ट्यांकरहरु पनि अमेरिकाले कब्जा गरेको थियो ।
भेनेजुएलाले तेल ट्यांकरहरू कब्जा लगायतका कारबाहीलाई राष्ट्रपति मदुरोलाई सत्ताबाट हटाउन र भेनेजुएलाको तेल भण्डार नियन्त्रण गर्न बाध्य पार्ने प्रयासको एक हिस्सा भनेको छ ।
अमेरिकाले भेनेजुएलाबाट लागू पदार्थ तस्करी गरिरहेको भनिएका साना डुंगाहरूमा बारम्बार आक्रमण गरेको छ। सेप्टेम्बरयता अमेरिकाले प्रशान्त र क्यारबियनमा पानीजहाज र उसकै शब्दमा लागू औषध तस्करी गर्ने डुंगाहरूमाथि ३० वटा आक्रमण गरिसकेको छ।
सेप्टेम्बर २ मा अमेरिकाले अन्तर्राष्ट्रिय जल क्षेत्रको डुंगामाथि पहिलो आक्रमण गरेयता ११० भन्दा बढी मानिसको मृत्यु भइसकेको बीबीसीले जनाएको छ।
वासिंगटनले निकोलस मदुरोलाई भेनेजुएलाका वैधानिक राष्ट्रपतिको रूपमा मान्यता दिँदैन र लागू पदार्थ तस्करीको आरोपमा उनको पक्राउ गर्नेका लागि पुरस्कारको व्यवस्था गरेको छ।
राष्ट्रपति ट्रम्पले सैन्य हस्तक्षेपको धम्की दिइरहेका थिए र मदुरोलाई सत्ता त्याग्न आग्रह गरेको भनिएका विवरण पनि बाहिर आएको थियो ।
मदुरोले भने अमेरिकाले भेनेजुएलाको तेल भण्डार कब्जा गर्न खोजेको आरोप लगाएका छन्। तर उनले शान्ति र वार्ताको लागि अपिल समेत गरिरहेका थिए।
रसिया, कोलम्बिया, क्युबा लगायत मुलुकले भेनेजुयलामाथि अमेरिकी आक्रमणको निन्दा गरेका छन् ।









