काठमाडौं– संयुक्त राज्य अमेरिकाको बी१ (बिजनेस) र बी२ (भिजिट) भिसा लिन चाहने नेपालीले अन्तरवार्ताअघि लाखौं रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार यही जनवरी २१ तारिख (२०८२ माघ ७) देखि लागू हुने यो नियम अन्तर्गत बी१ र बी२ भिसा लिएर अमेरिका गएको व्यक्ति बढीमा ६ महिना त्यहाँ बस्न पाउनेछ।

भिसा प्राप्त गर्ने व्यक्तिलाई भिसा अन्तरवार्ताका क्रममा दूतावासका अधिकारीले ५ हजार डलर, १० हजार डलर वा १५ हजार डलरमध्ये कुनै एउटा रकम धरौटी राख्न लगाउनेछन्। नेपाली रुपैयाँमा ७ लाख २२ हजार रुपैयाँदेखि २१ लाख ६६ हजार रुपैयाँसम्म धरौटी राख्नुपर्छ । धरौटी रकम बुझाउँदा अमेरिकी अध्यागमन तथा भन्सार कार्यालयको फारम भरेर बुझाउनुपर्नेछ। रकम भिसा प्राप्त गर्ने व्यक्तिले नै तिर्नुपर्नेछ। अन्य तेस्रो पक्षको वेबसाइटबाट रकम तिर्न नपाउने बताइएको छ ।

कुनै व्यक्ति भिसा प्राप्त गरेभन्दा बढी समय अमेरिका बसेको अवस्थामा उसले बुझाउनुपर्ने रकम धरौटीबाट काटिनेछ।

साथै अमेरिका जाने नेपालीले अब निश्चित विमानस्थलबाट मात्र प्रवेश पाउनेछन्। साथै उनीहरुले तोकिएका विमानस्थलबाट मात्र देश छाड्नुपर्नेछ। अमेरिकाले प्रवेश गर्न र बाहिरिन तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल तोकेको छ।

बोस्टनको बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थल, न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल र वासिंगटनको डुलिस इन्टरनेसनल एयरपोर्टबाट मात्र बी१ र बी२ भिसा प्राप्त गर्ने व्यक्ति अमेरिका प्रवेश गर्न पाउनेछन्।

अन्य विमानस्थलबाट यात्रा गर्ने व्यक्तिलाई अमेरिकाले नियन्त्रणमा लिन सक्ने बताइएको छ ।

यी भिसा प्राप्त गर्ने व्यक्तिको अमेरिका प्रवेश गर्दा नै फर्कने दिन रेकर्ड गराउनुपर्नेछ। अमेरिकाबाट फर्केपछि उनीहरुले भिसा माग्दा राखेको धरौटी रकम फिर्ता हुनेछ।

साथै कोही व्यक्तिले भिसा प्राप्त गरे पनि यात्रा नगरेको अवस्थामा पैसा फिर्ता पाउने बताइएको छ। त्यसैगरी अमेरिकाको भिसाका लागि निवेदन दिएको र एयरपोर्टबाट फर्काइएको अवस्थामा पनि पैसा फिर्ता हुनेछ ।

त्यस्तै बिजनेस वा ट्राभल भिसामा गएका व्यक्तिले अन्य प्रकारको भिसा आवेदन दिए वा शरणार्थी बन्न गए धरौटी जफत हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय