काठमाडौं– नेपाली मूलका भारतीय गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको रिपोर्ट सार्वजनिक भएको छ ।
तामाङको ४३ वर्षको उमेरमा भारतको राजधानी दिल्लीमा आइतबार बिहान हृदयाघातका कारण निधन भएको संगीतकार राजेश घतानीलाई उद्धृत गरिएका समाचारहरुमा उल्लेख छ ।
हृदयाघातपछि उनलाई भारतको द्वारकास्थित अस्पताल पुर्याइएको सिक्किमबाट प्रकाशित हुने भ्वाइस अफ सिक्किमको समाचारमा उल्लेख छ । अस्पताल पुर्याउँदा उनको निधन भइसकेको उक्त समाचारमा उल्लेख छ ।
तामाङ अरुणाचलमा कार्यक्रम सक्काएर भर्खरै राजधानी फर्किएका थिए । उनको स्वास्थ्यमा यसअघि कुनै समस्या नरहेको बताइएको छ ।
तामाङ भारतीय टिभी रियालिटी सो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय पनि गरेका छन् ।
उनले नेपाली भाषामा कर्णप्रिय गीतहरु दिएका छन् । चलचित्र परदेशीका लागि उनले गाएको विछोडको करौंतीले रेट्नुसम्म रेट्यो… आगो पिएर बाँच्ने…, किन मायामा…, अंगालो यो मायाको… जस्ता गीतहरु नेपाली स्रोतामाझ निकै लोकप्रिय छन् । गोर्खा पल्टन, परदेशी, परदेशी–२, प्रशान्तका हिट नेपाली फिल्महरु हुन्।
तामाङका निकट मित्र समेत रहेका घतानीले कार्डियाक अरेस्टबाट तामाङको निधन भएको बताएको समाचारहरुमा उल्लेख छ ।
तामाङकी श्रीमती र एक छोरी छन् । उनले हालै मात्र सलमान खानको एक चलचित्रमा खलपात्रको रुपमा अभिनय गरिरहेका थिए ।
तामाङको निधनमा भारतीय गोर्खा परिसंघ (आसाम राज्य)का नन्दा किराती देवानले दुःख व्यक्त गरेका छन् ।









