काठमाडौं– इन्डियन आइडल सिजन ३ का विजेता तथा पाताल लोक सिजन २ का अभिनेता प्रशान्त तामाङको निधन कार्डियाक एरेस्ट भनिने हृदयाघातबाट भएको भनिए पनि सोको पुष्टि हुन बाँकी रहेको भारतीय सञ्चार संस्था इकोनोमिक टाइम्सले जनाएको छ ।
४३ वर्षीय गायक तथा अभिनेता तामाङ आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेको इन्डिया टुडे एनईलाई स्रोतहरूले बताएका छन्। केही रिपोर्टहरूमा उनको मृत्यु हृदयघातका कारण भएको भनिए पनि यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ। रिपोर्टअनुसार फिल्म निर्माता राजेश घतानीले प्रशान्त तामाङको निधनको पुष्टि गरेका छन्।
रिपोर्टका अनुसार प्रशान्त तामाङलाई सन् २०२६ जनवरी ११ मा नयाँ दिल्लीको द्वारकास्थित एक अस्पतालमा मृत घोषित गरिएको थियो। कोलकाता प्रहरी बलका पूर्वप्रहरी अधिकारी तामाङले थुप्रै नेपाली चलचित्रहरूमा मुख्य अभिनेताका रूपमा अभिनय गरेका थिए । हालै पाताल लोक सिजन २ मा पनि महत्वपूर्ण भूमिकामा देखिएका थिए।
रिपोर्टमा जनाइएअनुसार जनवरी ११ को बिहान करिब ९ः०० बजे दिल्लीको द्वारकास्थित अस्पतालमा उनलाई मृत घोषित गरिएको थियो। उनी हालै अरुणाचल प्रदेशमा लाइभ प्रस्तुति दिएर राजधानी फर्किएका थिए। प्रशान्तलाई यसअघि कुनै गम्भीर स्वास्थ्य समस्या देखिएको थिएन । उनको पार्थिव शरीर अन्त्येष्टिका लागि जन्मथलो दार्जिलिङ लगिने कि दिल्लीमै अन्त्येष्टि गर्ने भन्ने विषयमा हाल छलफल भइरहेको जनाइएको छ।









