जनकपुरधाम– सितिमिति भाषण नगर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले सोमबार जनकपुरमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गरेका छन् । उक्त सभाामा उनले देश विकासका लागि आफ्नो पार्टीलाई विजयी गराउन आग्रह गरेका छन् । रास्वपाले परिर्वतन उद्घोषसभा नाम दिएको कार्यक्रममा उनले आफ्नो पार्टीलाई बहुमतले विजयी गराई मधेस र देशको सेवा गर्ने अवसर दिन अपिल गरे ।

वरिष्ठ नेता साहले आफूहरूलाई प्रतिनिधिसभामा विजयी गराएमा देशले ठूलो उपलब्धि हासिल गर्ने दाबी गरे । उनले आफ्नो पार्टीको सरकार बनेमा नागरिकले आफ्नो अधिकार आफ्नै प्रदेशमा पाउन थप बलियो आधार बन्ने धारणा राखे ।

‘म काम गर्ने मानिस हुँ, मलाई काम गर्ने मौका दिनुस् । काठमाडौं महानगरको प्रमुख हुँदा गरेका राम्रा कामबारे यहाँहरूले थाहा पाउनुभएको नै छ । प्रतिनिधिसभामा हाम्रो पार्टीलाई निर्वाचन गरेमा मधेसमा पनि काम गर्ने छु यो मेरो प्रतिज्ञा हो,’ नेता साहले भने ।

उनले मधेस प्रदेश राजधानी जनकपुर ऐतिहासिक तथा धार्मिकस्थल भए पनि यहाँको विकास नदेखेर आफू अत्यन्त चिन्तित तथा दुःखी भएको बताए । ‘यो ऐतिहासिक भूमि हो, तर सरसफाइको अभावमा जनकपुर प्रदूषित हुँदै गएको छ । पर्याप्त विकास नहुँदा पर्यटकलाई कठिन भइरहेको छ,’ साहले भने, ‘म र मेरो पार्टीले जितेमा यहाँको विकासका साथै प्रदेशका जनताले आफ्नो अधिकारका लागि काठमाडौं जाने बाध्यात्मक परिस्थितिलाई हटाउन लाग्ने छु । हाम्रो सरकार बनेमा प्रदेशलाई अझै बलियो, सशक्त तथा प्रभावकारी बनाउन लाग्ने छौं ।’
वरिष्ठ नेता साहले आफू मधेसकै बासिन्दा भएकाले यहाँको विकासका लागि सम्पूर्ण ध्यान लगाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

सभालाई सम्बोधन गर्ने क्रममा उनले भने– ‘म यो भन्न चाहन्छु कि प्रदेशलाई अझै बलियो बनाउनु पर्छ। प्रदेशको काम एउटा वडामा गएर ५० हजारको धारा जोड्ने होइन। प्रदेशको काम भनेको कम्तीमा ३–४ वटा पालिकालाई जोडेर ठूला काम गर्नु हो। जनकपुरको प्रमुख प्रशासकीय अधिकृत फेर्न किन काठमाडौं जानु पर्छ ? जनकपुर त प्रदेशको राजधानी हो नि ! तर फेरि पनि काठमाडौं किन जानु पर्छ ? यहाँ किन हुँदैन ? त्यसैले प्रदेशलाई बलियो बनाउनु पर्छ। कामका लागि काठमाडौं जानु नपरोस्, काम यहीँ होस्। काठमाडौं अधिकार माग्न होइन… घुम्न जानुस्, पशुपति, स्वयम्भु !’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय