काठमाडौं– सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार आचार्यले सोमबार पदभार ग्रहण गरेका छन् । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको गत कात्तिक २४ मा बसेको बैठकको निर्णयबमोजिम आचार्य सीईओ नियुक्त भएका हुन् ।

२१ बर्षदेखि सानिमा बैंकमा कार्यरत आचार्य संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको एमएनआईटी, जयपुरबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन् । उनले एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गर्नुअघि उनी बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । सानिमा बैंकमा लामो सेवाकालका दौरान उनले १० भन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

उनको प्रमुख कार्य क्षेत्रहरूमा कर्जा मूल्यांकन, डिजिटलाइजेसन तथा परियोजना वित्त रहेका छन् । उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा पनि अध्यक्षका रुपमा कार्यरत थिए । बैंकिङ क्षेत्रबाहेक उनीसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ । यसका साथै, उनले पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा पनि सेवा दिएका थिए ।

प्रमुख कार्यकारी अधिकृत आचार्यको विश्लेषण क्षमता, रणनीतिक सोच र बैंकिङ अनुभवका आधारमा उनको नेतृत्वमा बैंकले थप सफलता र प्रतिष्ठा हासिल गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय