काठमाडौं– भू–राजनीतिक र आर्थिक अनिश्चितताबीच लगानीकर्ताहरू सुरक्षित लगानी (सेफ हेभन) तर्फ आकर्षित भएपछि बिहीबार सुनको मूल्य निरन्तर बढ्दै प्रतिऔंस करिब ५ हजार ६०० अमेरिकी डलरको नजिक पुगेको छ, चाँदीको मूल्य १२० डलर नाघेको छ ।
नेपाली बजारमा पनि सुनको मूल्य बिहीबार एकै दिन २० हजार ५०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँको कीर्तिमान कायम भएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार अन्तर्राष्ट्रिय बजारमा स्पट सुनको भाउ ग्रिनविच समयअनुसार बिहान ०७ बजेर ५२ मिनेटसम्म २.७ प्रतिशतले बढेर प्रति औंस ५ हजार ५४६.२९ डलर पुगेको थियो, जुन दिनको सुरुवातमै ५ हजार ५९४.८२ डलरको ऐतिहासिक उच्च स्तर छोइसकेपछि हो । सुनले लगातार ९ सत्रसम्म नयाँ रेकर्ड उच्च बनाएको छ ।
फेब्रुअरी डेलिभरीका लागि अमेरिकी सुन फ्युचर्स ४.५ प्रतिशतले बढेर प्रतिऔंस ५ हजार ५३९.२० डलर पुगेको छ, यसअघि यो ५ हजार ६२६.८० डलरको सर्वकालीन उच्च स्तरमा पुगेको थियो ।
‘असामान्य भू–राजनीतिक अवस्था र अमेरिकाको राजनीतिक परिस्थितिका कारण सुरक्षित लगानीको माग बढ्दा सुनको मूल्य उक्लिरहेको छ । फेडको स्वतन्त्रतामाथि चिन्ता छ । यस्तो हुँदा वित्तीय प्रणालीप्रति लगानीकर्ताको विश्वास कमजोर हुन्छ,’ एएनजेडकी विश्लेषक सोनी कुमारीले भनिन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले फेड अध्यक्ष जेरोम पावेलमाथि आपराधिक अनुसन्धान अघि बढाएको, फेड गभर्नर लिसा कुकलाई हटाउने प्रयास तथा मे महिनामा पावेलको उत्तराधिकारीको सम्भावित मनोनयन नजिकिँदै गएको सन्दर्भमा लगानीकर्ताहरू अमेरिकी फेडरल रिजर्भको स्वतन्त्रताबारे चिन्तित छन् ।
मारेक्सका विश्लेषक एडवर्ड मियरका अनुसार बढ्दो अमेरिकी ऋण र विश्व व्यापार प्रणाली अमेरिकी केन्द्रित मोडेलबाट क्षेत्रीय ब्लकहरूमा विभाजित हुँदै गएको संकेतले सिर्जना गरेको अनिश्चितताका कारण यतिबेला लगानीकर्ता सुनमा आकर्षित भइरहेका छन् ।
पहेंलो धातु सुनको मूल्यले सोमबार पहिलो पटक ५ हजार डलरको स्तर नाघेको थियो र यस सातामात्रै १० प्रतिशतभन्दा बढीले सुनको मूल्य बढिसकेको छ । सुरक्षित लगानीको बलियो माग, केन्द्रीय बैंकहरूको निरन्तर खरिद र कमजोर अमेरिकी डलरले मूल्य बढाउन सहयोग गरेको छ ।
सन् २०२५ मा ६४ प्रतिशतले उक्लिसकेको सुनको मूल्यले यस वर्ष अहिलेसम्म २७ प्रतिशतभन्दा बढीको वृद्धि हासिल गरिसकेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानलाई परमाणु हतियारसम्बन्धी सम्झौताका लागि वार्तामा आउन आग्रह गरेका छन् । उनले गत वर्ष इरानी परमाणु स्थलहरूमा गरिएको आक्रमणभन्दा भविष्यमा हुने कुनै पनि अमेरिकी आक्रमण धेरै गम्भीर हुने चेतावनी दिएका छन् ।
यसको जवाफमा तेहरानले अमेरिका, इजरायल र उनीहरूलाई समर्थन गर्नेहरूविरुद्ध प्रतिकार गर्ने धम्की दिएको छ ।
यसैबीच, फेडले अपेक्षा गरिएअनुसार नै बुधबार ब्याजदर यथावत राखेको छ । पावेलले डिसेम्बरको मुद्रास्फीति अझै पनि केन्द्रीय बैंकको २ प्रतिशतको लक्ष्यभन्दा धेरै माथि रहेको संकेत गरेका छन् ।
सुनको मूल्य उच्च हुँदा सांघाई र हङकङका बहुमूल्य धातु व्यापारीकहाँ ग्राहकको भीड लागेको छ, जहाँ केहीले मूल्य अझै बढ्न सक्ने अनुमानमा लगानी गरिरहेका छन् ।
अन्यत्र, स्पट चाँदीको भाउ १.४ प्रतिशतले बढेर प्रतिऔंस ११८.२५ डलर पुगेको छ, यसअघि यो १२०.४५ डलरको रेकर्ड स्तरमा पुगेको थियो ।
सुनभन्दा सस्तो विकल्प खोजिरहेका लगानीकर्ताहरूको माग, आपूर्तिको अभाव र गतिमा आधारित खरिदले सेतो धातु चाँदीलाई सहयोग पु¥याएको छ, जुन सन् २०२६ मा अहिलेसम्म ६० प्रतिशतभन्दा बढीले बढिसकेको छ ।
‘मानिसहरू यो मूल्यवृद्धिबाट फाइदा लिन ठूलो संख्यामा चाँदी बजारमा प्रवेश गरिरहेका छन्, फलस्वरुप यो उत्साह सकिएपछि चाँदीको मूल्य तीव्र रूपमा घट्न पनि सक्छ । यद्यपि, चाँदी बजारलाई समर्थन गर्ने बलिया आधारभूत तत्वहरू पनि छन्,’ क्यापिटल डटकमका वरिष्ठ बजार विश्लेषक काइल रोड्डाले भने ।
यसैगरी, स्पट प्लाटिनम २.८ प्रतिशतले बढेर प्रतिऔंस २ हजार ७७०.४९ डलर पुगेको छ, जुन सोमबार २ हजार ९१८.८० डलरको ऐतिहासिक उच्च स्तरमा थियो, जबकि प्यालेडियम १.६ प्रतिशतले बढेर २ हजार १०७.३७ डलर पुगेको छ ।









