काठमाडौं– जिवन्त अभिनयमार्फत लोकप्रिय अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा निधन भएको छ । हृदयाघातका कारण उनको निधन भएको नेपाल कलाकार संघले जानकारी दिएको छ ।
संघका अध्यक्ष मोहन निरौलाका अनुसार थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भिक लगिएको थियो ।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । उनले चिनो लगायत दर्जनौं सफल नेपाली चलचित्रका साथै हिन्दीमा मेरिकोम लगायत चलचित्रमा अभिनय गरेका छन् । हालसालै उनी फ्यामिली मेन नामको सिरिजमा अभिनय गरेका थिए ।
पत्रकार सामिप्यराज तिमिल्सिनाले थापा निकट कलाकार विल्सनविक्रम राईले आफूलाई अभिनेता थापाको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको बताएको उल्लेख गरेका छन् ।
थापाका छोराहरु भारतमा रहेकाले, उनीहरु आउने तरखर गर्दै गरेको र नजिकका आफन्तहरु लुभुमा रहेकाले उनीहरुको प्रतीक्षा भइरहेको अभिनेता राईले बताएका छन् ।
अस्पताल स्रोतका अनुसार नर्भिक आइपुग्दा नै उनको अवस्था गम्भीर थियो । आफ्नै अपार्टमेन्टमा बेहोस भएका उनलाई बिहानको साढे ५ बजे नर्भिक पुर्याइएको अस्पतालले जनाएको छ ।
अस्पतालले भने यो समाचार लेख्दासम्म थापाको निधन पुष्टि गरेको छैन ।









