काठमाडौं– पेट्रोलमा इथानोल मिश्रण प्रक्रियाबाट बहुपक्षीय क्षेत्र लाभान्वित हुने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरुले यसका लागि सरकार र निजी क्षेत्र तयार रहेको बताएका हुन् ।
लामो समयदेखि चर्चामा रहेको यो विषयले हालै मन्त्रिपरिषदबाट ‘पेट्रोलमा इथानोल मिसावट गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ स्वीकृत भएसँगै मूर्तरूप लिन लागेको कार्यक्रममा सहभागी सरकारी र निजीक्षेत्रका प्रतिनिधीहरुले बताए । यो निर्णयले देशको इन्धन सुरक्षा, आयात प्रतिस्थापन र विदेशी मुद्रा सञ्चितिमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको उनीहरुको भनाइ छ ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्ब बराबरको पेट्रोलियम आयात घटाउन सकिने बताएका छन् । उनले पेट्रोलमा इथानोल मिसाउने निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको चरणमा पुगेको बताए ।
इथानोल मिश्रणसम्बन्धी अध्ययन दुई दशकदेखि हुँदै आएको उल्लेख गर्दै उनले हाल पेट्रोलमा इथानोल मिसाउने आदेश २०८२ स्वीकृत भइसकेको र उक्त नीति राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा जाने चरणमा रहेको बताए । मन्त्री सिन्हाले पेट्रोलमा इथानोल मिसाउनु स्वच्छ ऊर्जातर्फको महत्त्वपूर्ण कदम भएको बताए ।
‘पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालमा वार्षिक १३ करोड लिटर पेट्रोलको आयात घटाउन सकिने देखिएको छ,’ उनले भने, ‘यसबाट वार्षिक झन्डै ६ अर्ब बराबरको विदेशी मुद्रा बचत हुनेछ । नेपालमा पसिनाले कमाएको पैसा बच्नेछ । त्यो बचत भएको पैसाले स्थानीय तहमा छुट्टै प्रकृतिको अर्थचक्र घुमाउन सक्नेछ।’
आफूले पहिलो निर्णय नै स्थानीय उत्पादनलाई सरकारी कार्यालयमा पहिलो प्राथमिकतामा प्रयोग गर्ने गरेको भन्दै उनले चुनावमा पनि स्थानीय तहमा उपलब्ध हुने सामान काठमाडौंमा खरिद गरेर नपठाउने, सोही स्थानमै खरिद गर्ने र त्यहाँ खरिद गरेको सामानको भुक्तानी तत्काल गर्ने नीति निर्वाचन आयोगले लिएपछि स्थानीय तहमा उत्पादन भएका वस्तुहरू त्यहीँ प्रयोगमा आएको र त्यहाँको अर्थतन्त्र चलायमान भइरहेको बताए ।









