गण्डकी– सोमबार मध्यराति धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ । पोखराबाट ३४ जना यात्रुसहितको चलानी लिएर माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग २ ख १४२१ नं को उक्त बस पोखराबाट बेलुका ७ बजे छुटेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए ।
उनका अनुसार उक्त बस तनहुँको जामुनेका ओमकुमार श्रेष्ठको हो । गाडीमा श्रेष्ठ पनि सवार रहेको बुझिएको उनले जानकारी दिए । ‘प्रहरीबाट प्राप्त जानकारी अनुसार गाडीमा सवारमध्ये हालसम्म १७ जनाको निधन भएको छ, पृथ्वी राजमार्ग सञ्चालक कम्पनीका कर्मचारी पनि घटनाबारे थप जानकारी लिन र बुुझ्न मलेखुबाट घटनास्थलमा पुगेका छन्,’ उनले भने ।
उक्त बसको चालक सुजित नेपाली रहेको र उनको अवस्था पनि हालसम्म अज्ञात नै रहेको साईले जानकारी दिए। साईका अनुसार घाइतेहरूको काठमाडौंको ट्रमा सेन्टरसहितका अस्पतालहरुमा र केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
साईले ग १ ख १४२१ नम्बरको उक्त बसमा पोखराबाट छुट्दा ३४ यात्रुसहित चालक र दुईजना बसका कर्मचारी सवार रहेको सईले बताए ।
बसमा सवार १८ जनाको निधन भएको र २६ जना घाइते भएको बताइएको छ । ज्यान गुमाउने र घाइते दुवैतर्फ दुई–दुईजना विदेशी छन् ।









