वीरगन्ज– जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिका क्षेत्रमा सोमबार बिहानैदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रशासनले पछिल्लो सुरक्षा स्थितिलाई ध्यानमा राखेर बिहान ९ः४५ बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका महानगर क्षेत्रमा लागि सर्वसाधारणको आवतजावत र भेला हुन प्रतिबन्ध लगाइएको छ।
प्रशासनले चारकिल्ला तोकेर कर्फ्यु लगाएको छ। जिल्ला प्रशासन कार्यालयको सूचनामा पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा नेपाल–भारत सीमा नजिकैको शंकराचार्य गेटभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लागू हुने उल्लेख छ । तोकिएको क्षेत्रमा आवतजावत गर्न, जुलुस निकाल्न, सभा–सम्मेलन गर्न, बैठक बस्न वा घेराउ जस्ता गतिविधि गर्न नपाउने भनिएको छ ।
एम्बुलेन्स, दमकल, शव वाहन र स्वास्थ्यकर्मीका सवारी साधनहरूलाई भने निषेधाज्ञाबीच पनि निर्वाध रूपमा चल्न दिइने बताइएको छ। त्यस्तै सञ्चारकर्मी, विश्वविद्यालयका पूर्व निर्धारित परीक्षामा सामेल हुने परीक्षार्थी तथा कर्मचारी, पर्यटकका सवारी साधन र कूटनीतिक नियोगका गाडीहरूलाई पनि सुरक्षाकर्मीले सहजीकरण गर्ने विज्ञप्तिमा उल्लेख छ।
हवाई टिकट भएका यात्रुलाई पनि आवागमनमा अवरोध नगर्ने प्रशासनको भनाइ छ । अहिले वीरगन्जका मुख्य चोक र गल्लीहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
आइतबार वीरगन्ज क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो। त्यस झडपले ठूलो रूप लिन सक्ने भन्दै प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो।









