काठमाडौं– मेक्सिकोका सबैभन्दा धेरै खोजी गरिएका व्यक्ति र डरलाग्दो लागूऔषध गिरोह जालस्किो न्यु जेनेरेसन कार्टेल (सीजेएनजी)का नेता सुरक्षा कारबाहीका मारिएपछि तिनका समर्थकले विध्वंश मच्चाएको खबर छ ।
एल मेन्चो नामले चिनिने नेमेसिओ ओसेगुएरा केर्भान्टेसको आइतबार राजधानी मेक्सिको सिटी लैजाँदै गर्दा मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । एल मेन्चोलाई उनका समर्थक र सेनाबीच भएको झडपमा गम्भीर चोट लागेको थियो ।
जालिस्को राज्यको मध्य–पश्चिमी सहर टापाल्पामा भएको भिडन्तमा सीजेएनजीका चार सदस्य मारिएका छन् । तीन जना सैनिक घाइते भएका छन् । अमेरिकाले यस कारबाहीमा सहयोग पुग्ने सूचना मेक्सिकोलाई दिएको थियो ।
सीजेन्सजीले प्रतिकारस्वरूप आठ राज्यमा गाडीहरूमा आगजनी, सडक अवरोध र सुरक्षा बलमाथि आक्रमण गरेको थियो ।
अमेरिकी विदेश मन्त्रालयले जालिस्को र तामाउलिपास राज्यका साथै मिचोआकान, ग्वेरेरो र नुएभो लेओनका केही क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई घरभित्रै बस्न चेतावनी दिएको थियो ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया साइनबाउमले नागरिकलाई शान्त रहन आग्रह गरेकी छिन् ।
५९ वर्षीय पूर्वप्रहरी अधिकारी एल मेन्चोले विशाल आपराधिक संगठन सञ्चालन गर्थे, जसले ठूलो मात्रामा कोकिन, मेथाम्फेटामिन र फेन्टानिल अमेरिकातर्फ तस्करी गर्ने गर्थ्यो ।
अमेरिकी विदेश मन्त्रालयले एल मेन्चोको पक्राउका लागि सूचना दिनेलाई १५ मिलियन डलर इनाम घोषणा गरेको थियो ।
मेक्सिकन रक्षा मन्त्रालयले विज्ञप्तिमा उक्त कारबाही देशका विशेष बलद्वारा योजनाबद्ध रुपमा कार्यान्वयन गरिएको जनाएको छ ।
कारबाहीका लागि मेक्सिकन वायुसेना र राष्ट्रिय गार्डका विमानहरू पनि परिचालन गरिएको थियो । कारबाहीका क्रममा रकेट लन्चरसहितका हतियार र थुप्रै बख्तरबन्द सवारीसाधन बरामद गरिएको बताइएको छ ।
अमेरिकाले यस कारबाहीमा सहयोग पुग्ने सूचना उपलब्ध गराएको मन्त्रालयले जनाएको छ ।
प्रत्यक्षदर्शीहरूले ग्वादालाहारा लगायत विभिन्न सहरमाथि धुवाँ उडिरहेको दृश्य खिचेका छन् । ग्वादालाहारा आउँदो फिफा विश्वकप आयोजना हुने सहरमध्ये एक हो ।
जालिस्कोको तटीय पर्यटकीय केन्द्र पुएर्तो भालार्तामा अशान्तिका कारण सम्भवतः हजारौं पर्यटक रिसोर्टमै फसेका छन् ।
आइतबारभरि जालिस्को र अन्य क्षेत्रमा बन्दुकधारीहरू सडकमा देखिएको रिपोर्ट आएको थियो ।
जालिस्कोका गभर्नर पाब्लो लेमुस नाभार्रोले सामाजिक सञ्जालमार्फत राज्यवासीलाई ‘कोड रेड’ चेतावनी पालना गर्दै घरमै बस्न आग्रह गरेका छन् । उनले सार्वजनिक यातायात सेवा स्थगित गरिएको पनि बताए ।
प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै युनाइटेड एयरलाइन्स, अमेरिकन एयरलाइन्स र एयर क्यानडाले पुएर्तो भालार्ता र ग्वादालाहाराका उडानहरू रद्द गरेका छन् । डेल्टा एयरलाइन्सको एटलान्टाबाट ग्वादालाहारा जाँदै गरेको उडान अस्टिनतर्फ मोडिएको बताइएको छ ।
मेक्सिकोका लागि पूर्व अमेरिकी राजदूत तथा पूर्व उप–विदेश सचिव क्रिस्टोफर लान्दाउले सामाजिक सञ्जालमा एल मेन्चोलाई ‘सबैभन्दा रक्तपिपासु र निर्दयी लागूऔषध तस्करमध्ये एक’ भनेका छन् । लान्दाउले उनको मृत्यु ‘मेक्सिको, अमेरिका, ल्याटिन अमेरिका र विश्वका लागि ठूलो उपलब्धि’ भएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड टङम्पले यसअघि कार्टेलहरूलाई मेक्सिकन भूमिमै लक्षित गर्ने धम्की दिएका थिए ।
गत जनवरीमा ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा लागूऔषध तस्करीका डुंगाहरूलाई लक्षित गरिसकेपछि ‘अब जमिनमा पनि प्रहार सुरु गर्ने’ बताएका थिए र ‘कार्टेलहरूले मेक्सिको चलाइरहेका छन्’ भनेका थिए ।
राष्ट्रपति साइनबाउमले त्यसपछि दक्षिणी सीमापार अमेरिकी सैनिक परिचालन एजेन्डामा नभएको प्रतिक्रिया दिएकी थिइन् ।
तर यदि सुरक्षा बलहरूले चाँडै स्थिति नियन्त्रणमा लिन सकेनन् भने मेक्सिकन प्रशासनको जित कार्टेलको हिंसात्मक प्रतिक्रियाले ओझेलमा पार्न सक्ने बिबिसीको समाचारमा उल्लेख छ ।
जालिस्को कार्टेलले सुरक्षा बल र सार्वजनिक अधिकारीमाथि गरिएका आक्रमणहरूको शृंखलाबाट कुख्याति कमाएको छ । यसले रकेटबाट हान्ने ग्रिनेड प्रयोग गरी सैनिक हेलिकप्टर खसाल्नुका साथै दर्जनौं सरकारी अधिकारीको हत्या गरेको छ । यो गिरोहले प्रतिद्वन्द्वीलाई तर्साउन नाउन मारिएका मानिसका शवहरु पुलमा झुन्डाउने गरेको बताइन्छ ।
मेक्सिकोको प्रमुख लागूऔषध तस्करी समूह सीजेएनजी कार्टेल सन् २०१० मा जालिस्कोलाई आधार बनाएर सुरु भएको थियो र अहिले देशभर फैलिएको छ ।
सीजेएनजीलाई अमेरिकामा लागूऔषध आपूर्तिको प्रमुख स्रोत मानिन्छ । यसले फेन्टानिल उत्पादनबाट अर्बौं डलर कमाउने गरेको छ ।
राष्ट्रपति साइनबाउमले अहिले देशका अधिकांश भागमा गतिविधिहरू सामान्य रूपमा अघि बढिरहेका बताएकी छिन् ।









