आबुधाबी– इरानले गरेको आक्रमणमा एक नेपालीको पनि निधन भएको सूचना बाहिरिएको छ । युएईको रक्षा मन्त्रालयले फेब्रुअरी २८ देखि सुरु भएको इरानी आक्रमणको विस्तृत जानकारी तथा मृतक र घाइतेको नाम सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार त्यहाँको वाुसेना र वायु रक्षा प्रणालीले हालसम्म १६५ ब्यालिस्टिक क्षेप्यास्त्र, दुई क्रुज क्षेप्यास्त्र र ५४१ इरानी ड्रोनको सामना गरेको छ । यी घटनामा तीन जनाको मृत्यु भएको छ, त्यसमा एक नेपाली पनि रहेको मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले प्रकाशित गरेको समाचारमा उल्लेख छ ।
साथै विभिन्न राष्ट्रका ५८ जना सामान्य घाइते भएको उल्लेख छ । मृतक नेपालीको परिचय भने खुलाइएको छैन । मृतक अन्य दुई जना पाकिस्तानी र बंगलादेशी नागरिक रहेको मन्त्रालयको भनाइ छ ।
घाइते हुनेमा सोही मुलुकका साथै इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, इरिट्रिया, लेबनान र अफगानिस्तानका नागरिक छन् ।
इरानले आक्रमणका क्रममा प्रहार गरेका १६५ ब्यालिस्टिक क्षेप्यास्त्रमध्ये १५२ वटा नष्ट गरिएएको र १३ वटा समुद्रमा खसेको बताइएको छ । दुई क्रुज क्षेप्यास्त्र पनि पत्ता लगाएर नष्ट गरिएको समाचारमा उल्लेख छ ।









