काठमाडौं– गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका नरसंहार र विध्वंशबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाएको छ।
आयोगका पदाधिकारीहरूले सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको हो ।
आयोगले करिब ९०० भन्दा बढी पृष्ठको प्रतिवेदन तयार भएको जनाएको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माले गल्ती गरेकोलाई कारबाही गर्न सिफारिस गरिएको जानकारी दिए ।
उनले आन्दोलनका क्रममा सुरक्षा कमजोरी भएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको बताएका छन् ।
प्रधानमन्त्रीले प्रतिवेदन बुझेपछि आयोगलाई धन्यवाद दिँदै निष्पक्ष छानबिन गरेकोमा आफू विश्वस्त रहेको बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावललाई उद्धृत गर्दै बीबीसी जनाएको छ ।
रावलका अनु्सार प्रधानमन्त्रीले न्याय र कानुनका दिग्गज व्यक्तिहरू भएको आयोगले दुधको दुधको पानीको पानी हुने गरी छानबिन गरेकोमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिएकी छिन् ।
सरकराले सुरक्षाका हिसाबले सबै विवरण सार्वजनिक गर्न सके पनि त्यसको निचोड भने सार्वजनिक गर्ने बताएको छ ।









