काठमाडौं– विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रहरू र क्यासिनोहरूमा अनलाइन ठगीमा परेका ५१ नेपालीको उद्धार गरिएको छ ।
अनलाइन ठगीका साथै विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिना राहदानी बसिरहेका उनीहरुलाई आज थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा नेपाल फर्काइएको हो ।
यसैगरी अलपत्र परेका वा कठिन परिस्थितीमा रहेका अन्य नेपालीलाई नेपाल फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ ।
कम्बोडियामा नेपालीलाई नागरिक अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिना राहदानी वा राहदानी–अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ ।
कम्बोडियामा अवैध रुपमा बसिरहेका नेपाली नागरिकलाई नेपाल फर्कन सहजीकरणका लागि नेपाली राजदूतावास बैंकक वा गैर–आवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । स्क्यामिङ केन्द्रहरूमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ केन्द्रहरूबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनी गुनासो आएको छ । त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदूतावास बैंककले उद्धार गर्न बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको जनाएको छ ।
कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांकअनुसार पछिल्लो समय सन् २०२१ मा १०१ नेपालीहरु भ्रमण भिसामा कम्बोडिया गएकामा सन् २०२२ मा १ हजार ९७७ जना, सन् २०२३ मा २ हजार ९४० जना, सन् २०२४ मा ६ हजार ४०४ जना तथा सन् २०२५ मा ९ हजार ६७६ नेपालीहरु कम्बोडिया गएको देखिन्छ ।
नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार थाइल्यान्ड लगायत मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले अनुरोध गरेको छ ।









