काठमाडौं– भदौ २३ को जेनजी आन्दोलनमा भएको दमनमा अनुसन्धान गर्न पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली, लेखक सहित तत्कालीन केन्द्रीय सुरक्षा समितिका अधिकारीहरूलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो । सोही सिफारिस बमोजिम प्रहरीले उनीहरूमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीले ओली र लेखकलाई पक्राउ गरेर आइतवार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । उक्त अदालतका न्यायाधीश आनन्द श्रेष्ठले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । ओली र लेखकले जेनजी प्रदर्शनमा दमन गरेर किशोरहरूमाथि घातक हतियारबाट गोली प्रहार गर्ने आदेश दिएको जाँचबुझ आयोगको ठहर छ ।
अदालतले ओली बिरामी रहेको बुझिन आएकोले प्रभावकारी उपचार व्यवस्था मिलाउन समेत भनेको छ ।









