मध्यपुर थिमी– भक्तपुर चेम्बर अफ कमर्स र भक्तपुर घरेलु तथा साना उद्योग संघले अहिलेको संकटको बेला व्यवसायी मारमा परको भन्दै कर छुटको माग गरेका छन् । दुई संस्थाले मिलेर आयोजना गरेको राजस्वसम्बन्धी भर्चुअल अन्तक्र्रिया कार्यक्रममा आव २०७८–७९ को बजेटमा भएका व्यवस्था र कर छुटका विषयमा छलफल गरिएको थियो ।

उक्त अवसरमा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत गगनबहादुर विकसँग राजस्वका विविध विषयमा छलफल गर्दै राजस्व छुटको माग गरेको कार्यक्रम आयोजक भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछेरत्न मानन्धरले बताए ।

कार्यक्रममा कोरोना भाइरसले भएको लकडाउन र निषेधाज्ञाका कारण व्यापार गर्न नपाउँदा व्यापारी निकै नोक्सानमा परेको भन्दै कर छुटको माग गरेको बताइएको छ । चेम्बरका सल्लाहकार रोशन भोयद्योले व्यवसायीका प्रतिनिधिमूलक संस्थाले व्यवसायीलाई निरन्तर सुसूचित गर्दै सशक्तीकरण गरिरहनुपर्ने बताए ।

घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजा तथा संघका निवर्तमान अध्यक्ष वीरेन्द्र जतीले महिला उद्यमीलगायत घरेलु उद्योगका लागि सरकारले दिनुपर्ने सुविधा पर्याप्त नभएको बताए ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका कर अधिकृत राजकुमार पोखरेलले विषयवस्तुमाथि प्रस्तुतीकरण दिएका थिए । कार्यक्रम संयोजक अष्टबज्र बज्राचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय