माले– कोरोना संक्रमणले तहसनहस बनाएको माल्दिभ्सको पर्यटन लयमा फर्केको छ । माल्दिभ्समा यो अक्टोबरमा सन् २०१९ कै हाराहारीमा पर्यटक आएपछि यहाँको पर्यटन क्षेत्र लयमा फर्किएको ठानिएको छ ।
अक्टोबरको २४ दिनमा माल्दिभ्समा एक लाखभन्दा बढी पर्यटक आएका छन् । राज्यको स्वामित्वमा रहेको पिएसएम न्युजले पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त समाचार दिएको हो ।
अक्टोबर १ देखि २४ सम्म एक लाख २ हजार ४३४ विदेशी पर्यटकले माल्दिभ्स भ्रमण गरेका पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सन् २०२० जुनको सोही अवधिको तुलनामा हाल ५९९ प्रतिशतले बढेको छ । तर यो २०१९ को तुलनामा २ प्रतिशतले कम हो ।
माल्दिभ्सले यस वर्ष अहिलेसम्म कुल नौ लाख ७३ हजार २६९ पर्यटक आगमन रेकर्ड रहेको छ । माल्दिभ्समा पर्यटक आउने सबैभन्दा ठूला स्रोत मुलुक भारत र रुस हुन् । अक्टोबरमा आएका पर्यटकमा २३ प्रतिशत भारतीय र १९ प्रतिशत रसियाली छन् ।









