याङगुन– म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई म्यानमारको सैनिक सरकारले चार वर्षको जेल सजाय सुनाएको छ । सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन मुख्य भूमिका खेलेको र कोरोनाभाइरस विरुद्धको नियमहरु उलंघन गरेको आरोपमा उनलाई चार वर्षे जेल सजाय गर्न लागिएको हो ।

सुकीसँगै पूर्वराष्ट्रपति विन मिन्तलाई पनि चार वर्षे जेल सजाय तोकिएको हो । दुवै जनालाई एउटै आरोप लगाइएको छ । नोबेल पुरस्कार विजेता ७६ बर्षिय नेतृ सुकीलाई म्यानमारको सैनिकले सत्ता कब्जा गरेसँगै आफ्नै निवासमा नजरबन्दमा राखेको छ ।

उनलाई कारागार चलान गर्नु पर्ने फैसला सोमबार गरिएको भएपनि नजरबन्दबाट कारागार कहिले लैजान्छ भन्ने यकिन भने नभएको समाचारमा जनाइएको छ ।
कतिपयले नजरबन्दबाट कारागार लैजानकै लागि सैनिक सरकारले अनावश्यक मुद्धा लगाएर दोषी देखाएको आरोप पनि लगाएका छन् ।

सुकीलाई यो बाहेक आर्थिक अनियमितता गरेको, शक्ति र श्रोत साधनको दुरुपयोग गरेको लगायतका दर्जनौ मुद्धा सैनिक सरकारले लगाएको छ । ती मुद्धामा दोषी ठहर भएमा उनलाई आजिवन जेल सजाय हुनेछ । ती मुद्धामा अहिले सुनुवाई भइरहेको छ ।

तर सुकी र उनका समर्थकले भने राजनीतिक पुर्वाग्रहका आधारमा सरकारले झुटा आरोप र मुद्धाहरु लगाएको दाबी गरेका छन् । निर्वाचित सरकार र संसदलाई समेत विघटन गरिएको घोषणा गर्दै सैनिक नेतृत्वले गत फेबु्रअरी १ मा सत्ता हातमा लिएको हो ।

सैनिक नेतृत्वले सत्ता कब्जा गरेपछि म्यानमारमा लामो समय आन्दोलन भएको थियो । आन्दोलनका क्रममा १३ सयभन्दा बढीको मृत्यु भएको थियो भने अरु कैयौ घाइते भएका थिए । त्यसैगरी आन्दोलनमा सहभागी भएका मध्ये हजारौंलाई प्रहरीले गिरफ्तार गरेको छ ।

तत्कालिन नवगठित संसदको निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट गरेको सेनाले फेरि निर्वाचन गराउने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने दावी गरेको छ । तर अहिलेसम्म निर्वाचनका लागि ठोस कार्य भएको देखिएको छैन भने निर्वाचन हुने वातावरण पनि बन्न सकेको छैन ।

सैनिकले निर्वाचित सरकार र संसदलाई विघटन गरी आफू खुशी सत्ता हातमा लिएपछि विश्वभरीबाट विरोध भएको छ भने कतिपयले सहकार्य र सहयोग पनि रोकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय