लन्डन– बेलायतमा कोभिड रोकथामका लागि लगाएका सबै प्रतिबन्ध बिहीबारदेखि लागू हुने गरी हटाइएको प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।

बेलायतले जनवरीदेखि नै अनिवार्य मास्क लगाउने र संक्रमण नियन्त्रणका लागि अपनाइएका कडा खालका प्रतिबन्धात्मक उपायहरूलाई अन्त्य गरिसकेको थियो ।

प्रधानमन्त्री बोरिस जोन्सनले गरेको नयाँ घोषणापछि बिहीबारदेखि नै विद्यालय, कलेज तथा बाल हेरचाह संस्थाका कर्मचारीले हप्तामा दुईपटक कोरोना परीक्षण गराउनुपर्ने यस पहिलेको प्रावधान हट्ने छ भने कसैलाई कोभिड–१९ पुष्टि भए पनि छुट्टै (एकान्त) मा बस्नुपर्ने छैन ।

उनले भने, ‘सेल्फ–आइसोलेसन हटाउनु र कोभिडविरुद्धका नियमहरू उल्टाउनु कोरोना भाइरससँग सामान्य रूपमा अघि बढ्ने अन्तिम चरणमध्ये एक हो । धेरै मानिसहरू जस्तै मलाई पनि लाग्छ कि यो कदम चाल्न धेरै जरुरी थियो ।’

प्रधानमन्त्री जोनसनले अप्रिल १ देखि देशमा निःशुल्क कोरोना परीक्षण पनि बन्द हुने बताए । यद्यपि उनले प्रतिबन्ध हटाउनुको अर्थ कोरोनामाथि विजयको घोषणा गर्नु भने नभएको भन्दै आफ्नो ख्याल गर्न सबै नागरिकलाई आग्रह गरेका छन् ।

सरकारको निर्णय सार्वजनिक भएसँगै विज्ञहरूले भने उक्त घोषणाले गर्दा संक्रमणको जोखिम बढाउन सक्ने बताएको बिबिसीले उल्लेख गरेको छ । मानिसहरु मास्कबिना हिँड्न थालेमा कोरोना द्रुत गतिमा बढ्ने र यो घातक हुने उनीहरूले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय