टोक्यो– गोली प्रहारबाट गम्भीर घाइते जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अस्पतालमा निधन भएको छ । राजनीतिक कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो ।
शुक्रबार बिहान नारा सहरमा उनीमाथि दुईवटा गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
उनको स्वास्थ्यस्थिति गम्भीर भएको र अहिले कोमामा राखिएको प्राप्त समाचारमा जनाइएको छ । गोली लागेपछि ढलेका आबेलाई तत्काल अस्पताल पुर्याए पनि बचाउन सकेनन् ।
घटनास्थलमा खिचिएको तस्बिरहरुमा उनको शरीरबाट रगत बगिरहेको देखिएको थियो । प्रहरीले आबेमाथि गोली हान्ने ४१ वर्षका पुरुषलाई नियनत्रणमा लिएको छ । उसले ठूलो बन्दुक बोकेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सडकमा आयोजना भएको एक सभालाई सम्बोधन गरिरहेका बेला उनलाई पछाडिबाट गोली प्रहार भएको थियो । नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएका आबेको त्यहीँ निधन भएको हो । आबे पटकपटक जापानको प्रधानमन्त्री बनेका थिए ।
आबे सन् २००६ देखि २००८ सम्म र सन् २०१२ देखि २०२० सम्म जापानमा प्रधानमन्त्री थिए ।









