
काठमाडौं– सेयर बजार मापक नेप्से आइतबार पौने ४९ बिन्दुले माथि उक्लिँदा परिसूचक र कारोबार रकम दुवैमा यसअघिको कीर्तिमान तोडिएको छ । आइतबार धितोपत्रको दोस्रो बजारमा १० अर्ब रुपैयाँभन्दा बढी रकमको सेयर किनबेच भएको छ । यस दिन नेप्से ४८.७४ बिन्दुले बढेर २५२४ मा पुगेको हो । यो हालसम्मकै उच्च बिन्दु हो ।
अघिल्लो कारोबार दिन बिहीबार बजार बन्द हुँदा नेप्से २४७५.२६ थियो । सेन्सेटिभ इन्डेक्स ५.३, फ्लोट इन्डेक्स ३.०६ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६८ बिन्दुले बढेको आइतबार दोस्रो बजारमा २०२ कम्पनीको सेयर किनबेच भएको छ । ८७ हजार ६७० कारोबारबाट १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैयाँ मूल्य बराबरको १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता सेयर किनबेच भएका छन् ।
एकै दिन यति धेरै रकमको सेयर किनबेच भएको पनि यो पहिलो पटक हो । यसअघि उच्च कारोबार रकमको कीर्तिमान कायम भएको माघ १५ गते ९ अर्ब ८९ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।
आइतबार लघुवित्त समूहको उपसूचक ७.७६ प्रतिशत बढेको छ । यस दिन जीवन बिमा, निर्जीवन बिमा र जलविद्युत् समूहको उपसूचक ३ प्रतिशतभन्दा धेरैले बढेको छ । अन्य र व्यापार समूहको उपसूचक २ प्रतिशतभन्दा धेरैले माथि उक्लेको छ । बैंकिङ, विकास बैंक र म्युचुअल फन्ड समूहको उपसूचक भने क्रमशः ०.२२, ०.०१ र ०.३१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आइतबार हिमालयन डिस्टिलरी लिमिटेड शीर्ष स्थान रह्यो । सो कम्पनीको ५३ करोड १७ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसैगरी, नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको ३० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
यस दिन कारोबारमा आएका झण्डै तीन दर्जन कम्पनीको सेयर सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । जसमा अधिकांश माइक्रोफाइनान्स छन् । यस दिन मेरो माइक्रोफाइनान्स, नागरिक लगानी कोष, डिप्रोक्स लघुवित्त, सारथी नेपाल लघुवित्त, आरएसडिसी लघुवित्त, गणपति माइक्रोफाइनान्स, निर्धन उत्थान लघुवित्त र मञ्जुश्री फाइनान्सको सेयरमूल्य १० प्रतिशत बढेको छ ।
नेपाल फाइनान्सको सेयर मूल्य भने ६.२७ प्रतिशतले ओरालो लागेको छ ।