काठमाडौं– संसारकै पहिलो नम्बरका धनाढ्य एलन मस्क ट्विटर किन्ने डिलबाट पछि हटेका छन् । उनले गत अप्रिलमा ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्न सम्झौतासमेत गरिसकेका थिए ।
ट्विटरले सम्झौताका सर्तहरु उल्लंघन गरेको आरोप मस्कको छ । ट्विटरले स्पाम र फेक अकाउन्टबारेको पर्याप्त सूचना नदिएका कारण आफू सम्झौताबाट पछि हटेको उनको भनाइ छ ।
ट्विटरले भने मस्कसँगको सम्झौता कार्यान्वयनका लागि कानुनी बाटो रोज्ने बताएको छ ।
ट्विटरका चेयरम्यान ब्रेट टायलरले मस्कसँग मूल्य र दुवै पक्षले स्वीकार गरेको सर्तहरुमाथिको कारोबार बन्द गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रारम्भिक मर्जर सम्झौतामा १ अर्ब अमेरिकी डलरको ब्रेक अप शुल्क पनि समेटिएको छ ।
गत मेममा मस्कले आफूले ट्विटरमा रहेका फेक र स्पाम अकाउन्टसम्बन्धी तथ्यांक पर्खिरहेको कारण सम्झौता अस्थायी रुपमा होल्डमा राखेको बताएका थिए ।









