काठमाडौं– विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारका ७५ देशमा यसको संक्रमण देखिएपछि संगठनले आपतकाल घोषणा गरेको हो ।

मंकीपक्स भाइरससम्बन्धमा संगठनको आपत्कालीन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा आएको हो । संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले विश्वभर १६ हजारभन्दा धेरै मानिसमा यसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले मंकीपक्सका कारण अहिलेसम्म पाँचजनाको मृत्यु भएको पनि जानकारी दिए ।

तेस्रो स्वास्थ्य आपतकाल
मंकीपक्सबाहके हाल कोरोनाभाइरस र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपतकालको स्थिति छ । डा. टेड्रोसका अनुसार आपतकालीन समितिमा मंकीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल भन्ने कि नभन्ने विषयमा एकमत हुन सकेको थिएन । तर प्रकोप विश्वभर व्यापक रूपमा फैलन थालेसँगै उनले त्यो निश्चय नै अन्तर्राष्ट्रिय सरोकार बनेको निर्णय गरेको बताए ।

उनले संक्रमणको नयाँ माध्यमबारे निकै कम कुराहरू स्पष्ट भएको बताए । ‘संगठनको समीक्षाले मंकीपक्सको जोखिम विश्वभर सबै क्षेत्रमा मध्यमखाले रहेको र युरोपेली क्षेत्र उच्च जोखिमयुक्त देखिएको छ, ‘डा. टेड्रोसले भने ।’

मंकीपक्स के हो ?
मंकीपक्स भाइरसका कारण मंकीपक्स रोग लाग्छ । यो भाइरस बिफर रोग गराउने भाइरसकै वर्गमा पर्छ । तर संक्रमण भएपछि लक्षणहरू त्यति गम्भीर हुँदैनन् । केही वैज्ञानिकहरूले यो भाइरसको नाम एचएमपीएक्सभी राख्न सुझाव दिएका छन् ।

मंकीपक्स संक्रमणका लक्षणहरू मध्यम खालका हुन्छन् र सर्वसाधारण मानिसलाई यो रोग सर्ने सम्भावना न्यून हुन्छ । बेलायत सरकारले यो रोग थप फैलिन नदिने उद्देश्यले आवश्यक परे प्रयोग गर्नका लागि बिफरविरुद्धको खोप किनेर राखेको छ ।

केही महिनादेखि यो भाइरस विश्वभरि असामान्य रूपमा फैलिरहेको छ । पहिलाका प्रकोपहरू अफ्रिकाका केही भागमा सीमित थिए । ती स्थानमा बाँदरमा नभई मुसा र लोखर्केजस्ता जीवमा यो भाइरस पहिला सर्ने गरेको विश्वास गरिन्छ ।

मंकीपक्स संकीमण भएपछि ठेउलाको जस्तो डाबर देखिन्छ । संक्रमित व्यक्तिको निकट सम्पर्कमा आउने अरूमा पनि यो भाइरस सर्न सक्छ । यसलाई यौन रोग नमानिए पनि यौन संसर्गबाट पनि यो भाइरस सर्न सक्छ । लक्षण नहराउन्जेल यो संक्रमण भएका मानिसले सहवास गर्नु हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय