काठमाडौं– रसियाली सैन्य कारवाही सुरु भएयता युक्रेनबाट पहिलोपटक खाद्यान्न निकासी भएको छ । रुस र युक्रेनबीच भएको सम्झौताबमोजिम २६ हजार मेट्रिक टन मकै बोकेको पानीजहाज स्थानीय समयअनुसार सोमबार बिहानै युक्रेनको दक्षिणी बन्दरगाह ओडेसाबाट हिँडेको टर्किस र युक्रेनी अधिकारीहरुले बताएका छन् ।
गत फेब्रुअरीदेखि रसियाले युक्रेनी बन्दरगाहमा नाकाबन्दी गरिदिएको छ । केही अघि दुवै पक्ष ती बन्दरगाहबाट खाद्य वस्तु निर्यात गर्न राजी भएका थिए ।
यो कदमले विश्वव्यापी खाद्यान्न संकटलाई कम गर्न मदत गर्ने अपेक्षा गरिएको छ । निकासी भएको मकै टर्की र सियरा लिओनको ध्वजाबाहक राजोनीले बोकेको छ । उसले उक्त खाद्यान्न लेबनानी बन्दरगाह पुर्याउनेछ । आगामी साताहरुमा थप खाद्यान्न निर्यातको तयारी भइरहेको छ ।
सम्झौताअनुसार इस्तानबुलमा स्थापना गरिएको संयुक्त समन्वय केन्द्रले उक्त पानीजहाजमा २६ हजार मेट्रिक टन मकै रहेको र मंगलबार निरीक्षणका लागि टर्किस जलक्षेत्रमा आइपुग्ने बताएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव अन्टोनियो गुटेर्रेसले पानीजहाज चलानको स्वागत गर्दै सम्झौता कार्यान्वयनमा टर्कीले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
‘आज युक्रेनले साझेदारहरुका साथ विश्वव्यापी भोकमरी रोक्न अर्को कदम चालेको छ,’ युक्रेनका पूर्वाधारमन्त्री अलेक्जेन्डर कुब्राकोभले फेसबुकमा लेखेका छन्, ‘बन्दरगाहको नाकाबन्दी हट्दा अर्थतन्त्रमा कम्तीमा एक अर्ब अमेरिकी डलर बराबर विदेशी विनियम आम्दानी थपिन्छ र कृषि क्षेत्रलाई अर्को वर्षको लागि योजना बनाउन अवसर मिल्छ ।’
अरु १६ वटा पानीजहाज ओडेसा क्षेत्रका बन्दरगाहबाट खाद्यान्न बोकेर हिँड्ने तयारीमा रहेको उनले जानकारी दिए । संयुक्त राष्ट्रसंघ र टर्कीको मध्यस्थतामा गत महिना युक्रेनको खाद्यान्न निर्यात गर्न बन्दरगाह खोल्ने सम्झौता रुस र युक्रेनबीच भएको थियो । १२० दिनका लागि गरिएको सम्झौता अवधि दुवै पक्षको सहमतिमा थप हुन सक्ने बताइएको छ ।
युक्रेनबाट खाद्यान्न निर्यात हुन नपाउँदा विश्वभर खाद्य संकट देखिएको थियो । गहुँबाट उत्पादन हुने रोटी र पास्ताको भाउ अकासिएको थियो । रुस–युक्रेन तनावले गर्दा पेट्रोलियम पदार्थ, खानेतेल र रासायनिक मलको मूल्य पनि बढेको छ ।
विश्वभर हुने गहुँ आपूर्तिमा रुस र युक्रेनको अंश झन्डै एक तिहाइ (३३ प्रतिशत) छ । सन् २०१९ मा विश्वको मकै आपूर्तिमा युक्रेनको योगदान १६ प्रतिशत थियो । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार सो वर्ष विश्वभरको सूर्यमूखी तेल आपूर्तिमा युक्रेनको योगदान ४२ प्रतिशत थियो ।
युक्रेनका विदेशमन्त्री डिमेत्रो कुलेबाले पछिल्लोपटकको मकै निर्यातबाट विश्वलाई राहत हुने भन्दै मस्कोलाई सम्झौताको सम्मान गर्न भनेका छन् । सम्झौताका सर्तअनुसार खाद्यान्न बोकेका जहाजहरु पारबहन भइरहेका बेला बन्दरगाहहरुलाई निशाना नबनाउन रुस राजी भएको छ । सम्झौताअन्तर्गत युक्रेनका समुद्री जलयानले एम्बुस थापेको उसको जलक्षेत्रमा खाद्यान्न बोकेका कार्गो जहाजहरुलाई बाटो देखाउनेछन् ।
टर्कीले संयुक्त राष्ट्रसंघको सहयोगमा ती पानीजहाजमा हातहतियार ओसारपसार भए/नभएको निरीक्षण गर्नेछ । रसियाले खाद्यान्न निर्यातका क्रममा हातहतियार ओसारपसार हुन सक्ने आशंका गरेको छ ।









