बेइजिङ– अमेरिकी सभामुख नान्सी पेलोसीलाई ताइवान प्रवेश गर्नबाट रोक्न चीनले ताइवाननजिकै घातक युद्धपोत र लडाकु जेटहरु परिचालन गरेको छ ।
बेइजिङले आपत्ति जनाउँदा जनाउँदै अमेरिकी सभामुख नान्सी पेलोसी आफूलाई स्वतन्त्र मुलुक दाबी गर्ने टापु ताइवान जाने तयारीमा छिन् । पेलोसी र वासिंगटनले औपचारिक रुपमा घोषणा नगरे पनि ताइवानका उच्च अधिकारीले पेलोसी एक रात बस्ने गरी मंगलबार ताइवान आइपुग्ने बताएका छन् ।
पेलोसीको औपचारिक यात्रा तालिकामा ताइवान भ्रमणबारे उल्लेख छैन । ८२ वर्षीय पेलोसीले आइतबारदेखि पूर्वी एसियाली देशहरुको भ्रमण सुरु गरेकी छिन् ।
चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग ठान्छ । आवश्यक परे बल प्रयोग गरेर भए पनि ताइवानलाई चीनमा गाभ्ने बेइजिङले बताइरहेको छ । अमेरिकाले भने औपचारिक रुपमा ताइवानलाई छुट्टै देशको मान्यता नदिए पनि उसलाई हतियार बेच्दै आएको छ ।
बेइजिङले अमेरिकी अधिकारीहरुलाई ताइवान भ्रमण नगर्न चेतावनी दिँदै आएको छ । तैपनि पेलोसीले नटेर्ने देखेपछि उनको बाटो छेक्न ताइवान नजिकै ठूलो परिमाणमा सेना र हातहतियार परिचालन गरेको प्राप्त समाचारमा उल्लेख छ ।
अमेरिकाले पनि आफ्ना दुईवटा एयरक्राफ्ट क्यारियर, दर्जनौं युद्धपोत र पनडुब्बीहरु ताइवान नजिकै लगेको छ । चीनको जनमुक्ति सेनाले पेलोसीको जहाज ताइवान प्रवेश गर्न खोजेको खण्डमा त्यसका अगाडि मिसाइल प्रहार गर्ने, लडाकु बिमानहरु उडाउने लगायतका सैन्य गतिविधि गरेर पेलोसीलाई ताइवान प्रवेश गर्न नदिने बताएको छ ।
चीनले यसअघि नै आगोसँग खेल्नेहरु भष्म हुन्छन् भनेर पेलोसीलाई ताइवान नजान चेतावनी दिएको छ । केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको फोनवार्तामा चिनियाँ राष्ट्र सी चिनफिङले त्यस्तो चेतावनी दिएका थिए ।
चिनियाँ सैन्य उडान विज्ञ फु चिन्साओले चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्ससँगको कुराकानीमा चिनियाँ सेनाको अभ्यास क्षेत्रमा पेलोसीको जहाज प्रवेश गरेको खण्डमा चिनियाँ लडाकु जहाजले त्यसलाई भगाउन बाटोमा हस्तक्षेप गर्ने, रेडियो चेतावनी पठाउने र त्यति गर्दा पनि रोक्न नसके पेलोसीको विमान अगाडि मिसाइल फाइरिङ गर्न सक्ने बताएका छन् ।









