काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य चुनावका लागि म्यादी प्रहरी भर्ना लिने प्रक्रिया सुरु भएको छ । प्रहरी प्रधान कार्यालयको मानव सोत विकास विभागअन्तर्गत पर्ने भर्ना छनोट शाखाले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना लिन दरखास्त आह्वान गरेको हो ।

इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन् शाखाले जनाएको । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ ।

प्रहरीले म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार यो भर्ना प्रक्रिया सुरु गरेको हो ।

म्यादी प्रहरी छनोटमा स्थानीय तह वा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४ वा स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्ति, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरू, सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल) मा विभिन्न पदमा २०७९ साल भदौ महिनासम्म भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेश गर्ने व्यक्तिहरू र विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त नेपाली नागरिकलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन पाउनेछ । त्यस्तै नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको, आतंककारी संगठनको सदस्य नरहेको, आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको, पुरुषको हकमा घटीमा उचाइ ५ फिट २ इन्च, छाती ३१–३३ इन्च, तौल ५० केजी र महिलाको हकमा घटीमा उचाइ ५ फिट, तौल ४२ केजी भएको तथा गर्भवती नभएको, नरहेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

तलब सुविधाको हकमा ३४ हजार ७६० रुपैयाँ हुने बताइएको छ । त्यसबाहेक पोसाक र अन्य उपकरणको लागि ७ हजार र खानाबापत ७२०० रुपैयाँ पाउने सूचनामा उल्लेख छ । हिमाली जिल्लामा खटिने प्रहरीको हकमा एक हजार रुपैयाँ ज्याकेटका लागि पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय