काठमाडौं– सरकारले बंगलादेशबाट आयात गर्ने ५० हजार मेट्रिक टन रासायनिक मल ढुवानी प्रक्रिया सुरु भएको छ । दुवै देशका सरकारबीच (जिटुजी)को सम्झौताअनुसार किनबेच भएको मल ढुवानी गर्ने प्रक्रिया सुरु भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

बंगलादेशबाट नेपालसम्म मल ढुवानी गर्ने ठेक्का पाएको कम्पनीले बंगलादेशमा मल बुझ्न थालेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए ।

‘हामीले ढुवानीका लागि छनोट गरेको कम्पनीले आजबाट मल बुझ्न थालेको जानकारी आएको छ, उताको सबै तयारी सकेर अब छिट्टै ढुवानी हुनेछ,’ उनले भने, ‘बंगलादेशको कम्पनीले दैनिक उत्पादन गरेको मल हामीलाई दिने भनेको छ, दैनिक जति उत्पादन हुन्छ । हामीले छनोट गरेको कम्पनीले सोही अनुसार विभिन्न खेपमा ढुवानी गर्छ ।’

ढुवानी कम्पनीले पहिलो खेपमा २० हजार मेट्रिक टन ल्याउने तयारी गरेको जनाउँदै भारतीय भन्सार प्रक्रिया मिलाउने काम भइरहेको उनले बताए । पहिलो खेपमा रेलमार्ग हुँदै आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगन्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ ।

कृषि सामग्री कम्पनीले बंगलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ ।

नेपालले बंगलादेशसँग प्रतिमेट्रिकटन २५९.१९५ अमेरिकी डलरमा मल खरिद सम्झौता गरेको थियो । बंगलादेशबाट रासायनिक मल खरिदको तयारीस्वरुप गत पुस २ गते जिटुजी प्रक्रियामार्फत मल किन्न कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो ।

सम्झौता भएको करिब दुई महिनापछि बल्ल मल ढुवानी प्रक्रिया सुरु भएको हो । कम्पनीले पहिलो खेपको मल बिहीबारसम्म ढुवानी सुरु हुने अनुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय