काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो मुलुकको सेनालाई विश्वव्यापी तनावको नयाँ युगमा बढिरहेका सुरक्षा चुनौतीको जवाफका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । चिनियाँ जनमुक्ति सेनालाई युद्धका लागि तयार पार्न अझ कठोर तालिन दिनुपर्ने पनि उनले बताएका छन् ।

राष्ट्रपति सीले यतिखेर विश्व एक शताब्दीमै नदेखिएको परिवर्तनको स्थितिबाट गुज्रिरहेको र त्यसले अस्थिरता र अनिश्चय बढाएको, साथै राष्ट्रिय सुरक्षालाई असर गरिरहेको चेतावनी दिएको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले बताएको छ ।

सम्पूर्ण सैनिकले नयाँ युगमा सेनालाई बलियो बनाउने कम्युनिस्ट पार्टीको योजना कार्यान्वयन गर्नुपर्ने र त्यसका लागि उनीहरुले युद्ध लड्ने सीप र क्षमता बढाउनुपर्ने उनको भनाइ छ । ‘जनमुक्ति सेनाले दृढताका साथ राष्ट्रिय सम्प्रभूता, सुरक्षा र विकासका चासोहरुको संरक्षण गर्नुपर्छ,’ सीले भनेका छन् ।

सीको निर्देशनले अमेरिकासँग मुठभेडको संकेत गरेको देखिन्छ । अमेरिकी सभामुख नान्सी पेलोसीले केही महिनाअघि ताइवान भ्रमण गरेपछि चीन अमेरिकासँग निकै रिसाएको छ । ताइवान मामिलामा अमेरिकासँग सैन्य मुठभेड हुनसक्ने सम्मको चेतावनी बेइजिङले दिएको थियो ।

सैन्य र हातहातियारका हिसाबले चीन अमेरिका जत्तिकै शक्तिशाली भइसकेको अनुमान छ । तर, परिस्थितिले चीनलाई मुठभेडमा ओर्लिन नदिने विश्लेषकहरु बताउँछन् । चीनलाई आफ्नो अर्थतन्त्र जोगाउन अन्य मुलुकको भर पर्नुपर्ने अवस्था छ । अमेरिकासँग सैन्य मुठभेड भएको खण्डमा उसले सबैतिरबाट आर्थिक नाकाबन्दी झेल्नुपर्ने हुन्छ ।

आफ्नो निर्देशन गत महिना चिनियाँ कम्युनिस्ट पार्टीको सम्मेलनका क्रममा लिइएको निर्णयमा आधारित रहेको पनि राष्ट्रपति सीले प्रस्ट पारेका छन् । उक्त सम्मेलनमा पार्टीको माथिल्लो नेतृत्वमा हेरफेर समेत गरिएको थियो । सोही सम्मेलनले सीलाई पार्टी महासचिवमा तेस्रो पाँचवर्षे कार्यकालका लागि अनुमोदन गरेको थियो ।

पार्टी प्रतिनिधिलाई वितरण गरेको प्रतिवेदनमा सीले आफ्नै तरिकाले शासन चलाइरहेको चिनियाँ टापु ताइवानको विषयलाई लिएर सशस्त्र द्वन्द्व हुन सक्ने औंल्याएका थिए । उनले बेइजिङको प्राथमिक लक्ष्य शान्तिपूर्ण पुनःएकीकरण रहेको भन्दै ताइवानी प्रशासनले स्वतन्त्र मुलुक घोषणा गर्ने प्रयास गरेको खण्डमा त्यसलाई रोक्न सैन्य बल प्रयोग गर्ने अधिकार बेइजिङसँग रहेको चेतावनी दिएका थिए ।

वासिंगटन र बेइजिङबीच जारी तनावमा ताइवानको मुद्दा पनि अग्रपंक्तिमा छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले लामो समयदेखिको रणनीतिक अस्पष्टताको परम्परा तोड्दै चीनले ताइवानमाथि आक्रमण गरेको खण्डमा अमेरिकी सेना प्रयोग गर्ने घोषणा गरेका छन् ।

अमेरिकी अधिकारीहरुले ताइवानलाई सार्वभौम राष्ट्रको रुपमा व्यवहार गर्दै आएका छन्, जसलार्य बेइजिङ एक चीन नीतिप्रतिको सिधा चुनौती भन्दै आएको छ । वासिंगटनले एक चीन नीतिलाई औपचारिक रुपमा मान्यता दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय