काठमाडौं– नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेस्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपाली (एनआरएन) लाई प्रत्यक्ष विदेशी लगानी (एफडीआई) को न्यूनतम सीमा लागू नहुने भएको छ । देशभित्र वैदेशिक लगानी बढाउन सरकराले यस्तो व्यवस्था गरेको हो ।

सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले दिएको अधिकार प्रयोग गरी उक्त कदम चालेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा विदेशी लगानीको सीमा प्रतिविदेशी लगानीकर्ता २ करोड रुपैयाँ हुने उल्लेख छ । यसअघि त्यस्तो सीमा ५ करोड रुपैयाँ थियो । केही दिनअघिको मन्त्रिपरिषद् बैठकले इन्भेस्टमेन्ट कम्पनीमार्फत गैरआवासीय नेपालीले गर्ने लगानी सम्बन्धमा निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा सूचना प्रकाशित गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा तोयानारायण ज्ञवालीले जानकारी दिएका छन् । इन्भेस्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्ने गैरआवासीय नेपालीलाई विदेशी लगानीको न्यूनतम सीमा लागू नहुने र त्यसरी लगानी गर्ने कम्पनीले इन्भेस्टमेन्ट कम्पनीका सबै सर्त पूरा गर्नुपर्ने सूचनामा उल्लेख छ ।

साना तथा मझौला लगानीकर्ता आकर्षित होऊन् भनेर यस्तो व्यवस्था गरिएको सरकारको भनाइ छ । सानोभन्दा सानो पुँजीबाट पनि आर्थिक गतिविधि विस्तार र रोजगारी अभिवृद्धि गर्न यो व्यवस्था गरिएको सरकारले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय