काठमाडौं– साबिकका कम्पनीहरुको तुलनामा थप सेवा, सुविधा दिएर ग्राहक आकर्षित गर्ने उद्देश्य सहित नयाँ कम्पनीले कम्प्युटर एपमा आधारित राइड सेयरिङ सेवा सुरु गर्ने भएको छ ।

राइडर सेवा प्रालिले ‘राइडर सेवा’ नामको एपमार्फत मोटरसाइकल, ट्याक्सी जस्ता सवारी साधनमा राइड सेयरिङ सेवा दिन लागेको हो । फागुन १५ भित्रै सेवा सुरु गर्ने तयारीमा रहेको कम्पनीले निश्चित समयसम्म निःशुल्क सेवा उपलब्ध गराउने जनाएको छ ।

राइडर सेवा एपले बस र हवाई जहाजको टिकट काट्ने सेवा पनि दिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) संगम राईले बताए । अहिले नै एप डाउनलोड गरेर तयारी अवस्थामा बस्ने सेवाग्राहीले निश्चित अवधिसम्म निःशुल्क सेवा लिन पाउने उनले प्रस्ट पारे ।

सिइओ राईका अनुसार उक्त सेवा सञ्चालनका लागि आवश्यक पर्ने एप तयार भई आइओएस र एन्ड्रोइडमा अपलोड भइसकेको छ । ‘अहिले नै सर्वसाधारणले मोबाइलमा राइडर सेवा एप डाउनलोड गर्न सक्नु हुन्छ,’ सिइओ राईले भने, ‘अहिले हामी कार्यालय सेटअपको अन्तिम चरणमा छौं । फागुन १५ भित्रै अपरेसनमा जान्छौं होला ।’

कम्पनीले तयार पारेको ‘राइडर सेवा’ चर्चित पठाओ, टुटल जस्तै कम्प्युटर एपमार्फत सेवाग्राही र सेवा प्रदायकलाई जोड्ने एप हो । आफ्नो बाइक वा ट्याक्सीमार्फत सेवा दिएर आम्दानी गर्न चाहने वा उक्त सेवा लिन चाहने व्यक्तिले राइडर सेवा नामको एप डाउनलोड गर्नुपर्छ ।

काठमाडौंबाट सुरु गर्ने सेवा विस्तारै प्रमुख सहर हुँदै देशव्यापी बनाउने कम्पनीको लक्ष्य छ ।

एन्ड्रोइडको प्ले स्टोर र एप्पलको आइओएसबाट उक्त एप डाउनलोड गरेपछि आवश्यक पर्दा त्यसबाटै मोटरसाइकल वा ट्याक्सी चालकसँग सम्पर्क गरी सेवा लिन सकिने सिइओ राईले बताए । एपले सवारी साधनको नम्बरसहित सम्पूर्ण विवरण देखाउनेछ ।

साबिकका कम्पनीको भन्दा गुणस्तरीय सेवा दिने राईले बताए । ‘बजार निकै प्रतिस्पर्धी भइसकेको छ, यस्तो बेला अरुको भन्दा फर र गुणस्तरीय सेवा दिन सकिएन भने टिक्न सकिन्न,’ राई भन्छन्, ‘साबिकका कम्पनीको तुलनामा कम भाडा र अझ बढी सेवा दिएर ग्राहक आकर्षित गर्छौं ।’

राइडरलाई स्वास्थ्योपचारमा सहुलियत र प्रयोगकर्तालाई बिमा पनि सेवा दिने उनले बताए । राइडरबाट कम्पनीले लिने शुल्क पनि अरुको तुलनामा कम राख्ने उनको भनाइ छ । ‘प्रयोगकर्ताको संख्या निश्चित सीमामा नपुग्दासम्म ग्राहकलाई निःशुल्क सेवा दिनेछौं,’ राईले भने ।

यो सेवा लिने–दिने दुवै पक्ष एपमा दर्ता हुनुपर्छ । अहिले नै एप डाउनलोड गरेर दर्ता गर्न सकिने सिइओ राइको भनाइ छ । ‘एकपटक दर्ता भएपछि चाहेको बेला सेवा लिन वा दिन सकिन्छ,’ उनी भन्छन्, ‘एपमा आफू जाने स्थान उल्लेख गर्नेबित्तिकै एपले लाग्ने भाडा देखाउँछ ।’

सेवा प्रदायक राइडरको हकमा कम्पनीले तोकेको कागजात एपमा राख्नुपर्ने र कम्पनीले सोको परीक्षण गरी सबै कुरा ठिक भए अनुमति दिने राईले बताए । उनका अनुसार सेवा दिन चाहने राइडरले सवारी साधनको लाइसेन्स, ब्लुबुक जस्ता कागजपत्र पेस गर्नुपर्नेछ ।

काठमाडौंबाट सुरु गर्ने सेवा विस्तारै प्रमुख सहर हुँदै देशव्यापी बनाउने कम्पनीको लक्ष्य छ । ‘हामीले व्यवस्थित रुपमा सेवा प्रदान गर्नकै लागि भने गृहकार्यमा डेढ वर्ष लगाएका छौं,’ सिइओ राई भन्छन्, ‘यस अवधिमा हामीले कसरी सुलभ मूल्यमा प्रभावकारी सेवा दिन सकिन्छ भनेर गहिरो अध्ययन गर्यौं ।’

कम्पनीले प्रयोगकर्तामैत्री हुनुपर्ने विषयलाई महत्त्व दिएको उनको भनाइ छ । ‘राइडर सेवालाई अब्बल बनाउने तयारी गरेका छौं,’ उनले भने, ‘यसले निश्चय पनि हामीलाई सफल बनाउँछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय