डोल्पा– सडक खन्ने प्रयोजनको लागि डोजर बोकेर गएको हेलिकप्टर सञ्चालक कम्पनीसँग शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले स्पष्टीकरण मागेको छ ।

निकुञ्जले श्री एयरलाइन्सलाई सात दिनभित्र जवाफ पेस गर्न पत्राचार गरेको हो । उक्त कम्पनीको हेलिकप्टरले निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारीलाई जाँच नगराई र निकुञ्ज कार्यालयमा नियमानुसार राजस्व नबुझाई उपल्लो डोल्पामा पर्ने धोमा हेलिकप्टर उडान, अवतरण गरेको भन्दै सात दिनभित्र जवाफ पेस गर्न पत्राचार गरिएको निकुञ्जले जनाएको छ ।

धो क्षेत्रमा के कति प्रयोजनका लागि कसको अनुमति लिई हेलिकप्टर उडाइएको हो, सुरक्षार्थ खटिएका निकुञ्जका सेना र कर्मचारीद्वारा जाँच नगराई, नियमानुसार राजस्व नबुझाई उडान, अवतरण गर्नुका कारण के हो भनेर सोधिएको छ ।

उक्त पत्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र ईश्वरी बक्स गुल्म सुलिगाडलाई बोधार्थ दिँदै इमेलमार्फत श्री एयरलाइन्सको कार्यालयमा पठाइएको निकुञ्जले जनाएको छ ।

सात दिनभित्र स्पष्ट जवाफ पेस नगरे कानुनअनुसार कारवाहीको प्रक्रिया अगाडि बढाइनेसमेत उल्लेख गरिएको छ । श्री एयरको हेलिकप्टरले धोमा सडक खन्ने प्रयोजनका लागि २९ माघमा त्रिपुरासुन्दरी नगपालिकाको चुँ गाडबाट डोजर बोकेर उपल्लो डोल्पा पुर्याएको थियो ।

ठेकेदारले निकुञ्जले दिएको सहमतिका आधारमा हेलिकप्टर उडाएको दाबी गरे पनि निकुञ्जले कुनै सहमति नदिएको स्पष्ट पारेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय